रत्ननगरको मोहना माविको कक्षा ११ खारेजको निर्णय सच्याउन माग
रत्ननगर – रत्ननगर नगरपालिका वडा नम्बर ९ स्थित मोहना माविको कक्षा ११ खारेज गर्ने निर्णय सच्याउन स्थानीय पाँच राजनीतिक दलले माग गरेका छन् । स्थानीय पाँच राजनीतिक दलले रत्ननगर नगरपालिकासँग उक्त निर्णय सच्याउन माग गरेका हुन् ।
रत्ननगर नगरपालिकाले २०७७ चैत ९ गते मोहना माविमा शैक्षिक सत्र २०७८÷२०७९ को लागि कक्षा ११ विधार्थी भर्ना नगर्नु भनि विद्यालयलाई पत्र पठाएको थियो ।
विद्यालयसँग कुनै परामर्श नगरी नगरपालिकाले एकलौटी ढंगले निर्णय गर्दा विपन्न,जनजाति,आदीवासी,सुकुम्बासी,दलित,गरिव एवं उत्पीडीत वर्ग शिक्षा बञ्चित हुने भन्दै उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरिएको छ ।
पाँच दलले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा स्थानीय अभिभावक तथा विद्यालयको तर्फबाट गत चैत्र १८ गते नगरपालिकाका कार्यकारी अधिकृत शिशिर पौडेल समक्ष निर्णय सच्याई भर्ना गर्न पाउँ भनि दिइएको ध्यानकर्षण पत्रको वेवास्ता गरिएको उल्लेख छ ।
उक्त विद्यालयबाट एसईई उतिर्ण विद्यार्थीहरु अन्यौलमा परेको भन्दै तत्काल निर्णय फिर्ता लिँदै कक्षा ११मा भर्ना गर्न वातावरण सृजना गर्न पनि विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेपाली काँग्रेसका भुपेन्द्रप्रसाद अधिकारी, नेकपा एमालेका विष्णुहरि देवकोटा, नेकपा माओवादी केन्द्रका मेघनाथ पौडेल, राष्ट्रिय जनमोर्चाका मेघराज ढकाल र नेकपा मालेका तोयाराज थपलियाले हस्ताक्षर गरेका छन् ।
तपाइँको प्रतिक्रिया