चितवनमा घाँस काट्न गएका वृद्धलाई बाघले खायो, हड्डीको टुक्रा मात्रै भेटियो
चितवन – पूर्वी चितवनको खैरहनी नगरपालिका १३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा हाडखोर मात्र बाँकी रहेको अवस्थामा मानिसको शव फेला परेको छ । वनको बरुवा घारीमा आज (शनिबार) दिउँसो ३:३० बजे बाघले खाएको अवस्थामा हाडखोर फेला परेको हो ।
उक्त हाडखोर घाँस काट्न गएका खैरहनी १३ हर्नरीका अन्दाजी ६६ वर्षीय भदै महत्तोको भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मानिसको अबशेष भेटिएको भनी खबर पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले टोलीले जंगली जनावरले खाएको अवस्थामा स-साना हड्डीका टुक्रा फेला पारेको चितवनका प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।
घटनास्थलमा भेटिएको कपडाको आधारमा उक्त हाडखोर महत्तो भएको भनी उनका छोराहरुले सनाखत गरेको डिएसपी थापाले बताए । यसअघि शुक्रबार महत्तोले लगाएको चप्पल र टोपी भेटिएको थियो ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । साउन २५ गते सामुदायिक वनमा घाँस काट्न गएका महत्तो सम्पर्कबिहिन भएका थिए ।
तपाइँको प्रतिक्रिया