आयआर्जन बढाउन माडीमा मौरी पालन र होमस्टे
माडी – चितवनको माडी नगरपालिका वडा नम्बर ६ मा स्थानीयको आयआर्जन बढाउन होमस्टे र मौरी पालन सुरु गरिएको छ । स्थानीयलाई स्वरोजगार बनाउन लक्ष्मीनिवासमा माडी भ्यु मध्यवर्ती सामुदायिक होमस्टे तथा वडा नम्बर ६ कै स्याउलीबासमा सामूहिक मौरी पालन सुरु गरिएको हो ।
ब्राम्हण क्षेत्री समुदायले गत वर्षको मंसिरबाट सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको हो । पर्यटन र स्थानीयको आयआर्जनलाई जोड्न मंसिरमा पाँच वटा घरहरु तयार भइ होमस्टे सञ्चालनमा छ । एउटा घर निर्माणाधिन अवस्थामा छ । अहिले थप घर निर्माणको तयारी पनि भइरहेको छ ।
माडी भ्यु होमस्टेमा अहिले एकै दिनमा तिस जनासम्म पाहुना राख्न सक्ने क्षमता छ । मंसिरबाट सञ्चालनमा आएको होमस्टेमा अहिलेसम्म सात सय भन्दा बढी पाहुना आएर बास बसिसकेका छन् ।
प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण अहिले होमस्टेमा पाहुना आउने अवस्था छैन । तर निषेधाज्ञा अघि होमस्टे पाहुनाले भरिने गरेका थिए । धेरै पटक धान्न नसकेर आएका पाहुनालाई फर्काउन परेको होमस्टेका अध्यक्ष खडानन्द अधिकारी बताउँछन् ।
कतीपय पाहुनालाई अन्य होमस्टेमा पठाइएको उनी सुनाउछन् । ‘छोटो समयमा नै धेरै पाहुना आउनु भएको थियो, उनी भन्छन्, धेरै पटक त धान्न नसकेर फर्काउन वाध्य भएका छौं । अन्य होमस्टेमा पठाउन वाध्य पनि भएका छौं ।’
सरसफाई, बोली बचन र पाहुनालाई गरिने व्यवहारमा बिशेष ध्यान दिने गरिएकोले पनि यो होमस्टे रोजाईमा पर्ने गरेको उनको बुझाई छ । होमस्टेमा पाहुनालाई स्थानीय स्तरमा नै उत्पादन भएका खाने कुराहरु खुवाउने गरिएको छ । कतीपय अवस्थामा भने पाहुनाको माग अनुसार कै परिकार बनाइने अधिकारी बताउँछन् । पाहुनालाई खाजामा सेलरोटी, खानामा सामान्यतया दाल, भात तरकारी खुवाउने गरिएको छ । दुध र घ्यु अनिवार्य गरिएको छ । दुध र घ्यु ब्राम्हण क्षेत्रीको बिशेषता नै भएकोले अनिवार्य गरिएको उनको भनाइ छ ।
स्थानीय आँफैले आफ्नै खर्चमा घर निर्माण गरेर होम स्टे सञ्चालनमा ल्याएका हुन् । एउटै घरमा ८ लाखसम्म लगानी गरेर होमस्टे सञ्चालन गरिएको हो । स्थानीयले ॠण गरेरै भए पनि होमस्टेमा लगानी गरेका छन् । केहीले विदेशबाट फर्किएर होमस्टेमा लगानी गरेका छन् । स्थानीय तुलसी रेग्मीले साउदीबाट फर्किएर होमस्टेमा लगानी गरेका छन् ।
११ वर्ष साउदी बसेका उनी होमस्टे चलाउने सोचका साथ फर्किएका हुन् । विदेशमा मेहेनत गर्नु भन्दा आफ्नै माटोमा पसिना बगाउने सोच बनाएर नेपाल फर्किएको उनी बताउँछन् । ‘विदेशको दु:ख सम्झिदा त यही ठीक हो । विदेशमा मेहेनत गर्नु भन्दा आफ्नै माटोमा पसिना बगाउन पाउँदा खुशी छु, उनी भन्छन्, यहाँ आफ्नै परिवारसँग बस्न पनि पाईन्छ ।’
उनी होमस्टेबाट आफु सन्तुष्ट रहेको बताउँछन् । अहिले कोरोना भाइरस र निषेधाज्ञाका कारण ठप्प भए पनि छिट्टै अवस्था सामान्य हुने र पाहुना आउनेमा उनी विश्वस्त छन् । यस्तै अहिलेसम्म पाहुनाबाट राम्रो प्रतिक्रिया पाइरहेको समेत उनी सुनाउँछन् ।
होमस्टे निर्माण भइसकेपछि वडा कार्यालयले ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । स्थानीय रेवा मध्यवर्ती उपभोक्ता समिति कल्याणपुरले होमस्टे निर्माणको क्रममा शौचालयका लागि २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो भने कल्याणपुर सामुदायिक वनले एकमुष्ट १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
नगरपालिकाबाट भने कुनै किसिमको अनुदान नपाएको होमस्टेका अध्यक्ष खडानन्द अधिकारीको गुनासो छ । अन्य वडामा होमस्टे निर्माणका लागि नगरपालिकाले ५ देखि ६ लाखसम्म अनुदान सहयोग गरेको भए पनि आफुहरुले भने अहिलेसम्म अनुदान नपाएको अधिकारी बताउँछन्। नगरपालिकाले सोलार जडानको आश्वासन दिए पनि अहिलेसम्म जडान नभएको उनी बताउँछन् ।
भजन र दोहोरीले पाहुना आकर्षित
बिभिन्न समुदायले सञ्चालनमा ल्याएका होमस्टेमा आ-आफ्नो समुदायको सँस्कृति झल्किने प्रस्तुतीहरु देखाइन्छ । माडी भ्यु होमस्टेको बिशेषता भजन कृतन र लोक तथा दोहोरी गीत हो ।
सो होमस्टेले पाहुनाहरुलाई साँझ भजन र दोहोरीबाट मनोरञ्जन दिने गरेको छ । भजन र दोहोरीले होमस्टेलाई छोटो समयमा नै परिचित बनाउन मद्त गरेको साँस्कृतिक कार्यक्रम संयोजक प्रेमबहादुर बिष्ट बताउँछन् । पाहुनाले केही फरक किसिमको साँस्कृतिक कार्यक्रमको महसुस गर्ने तथा सँस्कृतिको जगेर्ना समेत हुने उनको विश्वास छ ।
होमस्टेको आफ्नै हल नभएकोले अहिले कल्याणपुर सामुदायिक वनको सभाहलमा नै साँस्कृतिक कार्यक्रम हुने गरेको छ । छिट्टै नै होमस्टेको आफ्नै साँस्कृतिक कार्यक्रम भवन निर्माण गरिने उनले बताए । यसका लागि वडा कार्यालयले ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
सामूहिक मौरी पालन
माडीकै वडा नम्बर ६ स्याउलीबासमा स्थानीयले सामूहिक मौरी पालन सुरु गरेका छन् । बाटिका मौरी पालन कृषक समूह दर्ता गरेर स्थानीयले मौरी पालन सुरु गरेका हुन् । यो माडीमा मौरी पालनका लागि दर्ता भएको पहिलो कृषक समूह समेत हो । अहिले ३७ घार मौरी पालिएको छ । सुरुवाती चरणमा भएकोले सानो संख्याबाट सुरु गरिएको बाटिका मौरी पालन कृषक समूहका अध्यक्ष प्रेमबहादुर बिष्ट बताउँछन् ।
उक्त भेगमा बिभिन्न वनस्पती पाइने भएकोले स्थानीयको आय आर्जन बढाउनका लागि मौरी पालन सुरु गरिएको उनको भनाइ छ । यसका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन इकाइबाट ३७ घार मौरी, महदानीलगायतका आवश्यक सामाग्रीहरु सहयोग प्राप्त भएको थियो ।
उक्त क्षेत्रमा मौरीको सम्भावना राम्रो देखिएकोले व्यवसायीक मौरी पालनको प्रयास गरिएको उनी बताउँछन् । मौरीलाई चाहिने रुदिलो, टाँकी, बनमाराजस्ता वनस्पती सहजै पाइने भएकोले यसमा राम्रो भविष्य देखिएको उनी सुनाउँछन् ।
भरतपुरका बिभिन्न कृषकहरुले मौरी चरनका लागि माडी ल्याउने गरेकोले पनि यहाँ राम्रो सम्भावना देखिएको उनको बुझाई छ । ‘राप्ती पारीको जगतपुर, पटिहानी, पार्वतीपुरलगायतका ठाउँबाट मौरी चरनका लागि यहाँ ल्याउने गरेको हामीले देखेका छौं । यहाँ चरनका लागि आवश्यक वनस्पती भएर ल्याउनु भएको होला नि, उनी भन्छन्, हामीले पनि किन प्रयास नगर्ने भनेर सुरुवात गरेका हौं । हुन त हामी पहिलो वर्षमा छौं तर सम्भावना राम्रो देखेका छौं ।’
समुदाय भित्र तथा सामुदायिक वनमा मौरीका लागि राम्रो मानिने चिउरी लगायतका अन्य वनस्पतीको वृक्षारोपण गरिएको छ । आगामी दिनमा मौरीको घार विस्तार गर्दै जाने योजना रहेको उनी सुनाउँछन् । माडी नगरपालिकाले पनि आगामी वर्ष माडी ६ लाई मौरीको पकेट क्षेत्र बनाउने योजना अघि सारेको उनी बताउँछन् ।
अहिले माडीमा वर्षेनी ठुलो संख्यामा मह आयात हुने गरेको छ । माडीमै मौरी पालन गरेर महमा आत्मनिर्भर बनाउने योजना रहेको उनी बताउँछन् । एक घार मौरीबाट वार्षिक रुपमा ४० किलोसम्म मह उत्पादन हुने गर्दछ ।
तपाइँको प्रतिक्रिया