अब राजनीतिको कोर्स बदल्ने कि ?

हामी सबैले भनिरहेका छौं कि राजनीति गलत दिशातिर गयो । तर जब सही दिशातिर फर्काउने अवसर आउँछ तब फेरि हामी नै उही पुरानो बाटो हिँड्छौं । सुधार खालि बोलेर र कल्पना गरेर मात्र आउँदैन । त्यसका लागि व्यावहारिक रूपमा सही कदम चाल्नुपर्दछ । उमेदवार चयनमा नै विचार पुर्याउनुपर्दछ । मतदाताले मात्र होइन स्वयं उमेदवारले पनि दलको हित र आफ्नो लोकप्रियता, योग्यता र अनुकूलताको आफैले मूल्याङ्कन गर्नुपर्दछ । अहिले नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन हुन गइरहेको छ । भोलि स्थानीय र अन्य तहको निर्वाचन पनि आउँदै छ । अहिले पार्टीको अधिवेशन राम्रो भयो, असल उमेदवार विजयी भए, र विचारको अधिवेशन हुन सक्यो भने भोलिको राजनीति राम्रो हुन्छ । दल विचारले बलियो हुन्छ । लोकतन्त्र संस्थागत हुन्छ । समाजवादको बाटो फराकिलो र सफा हुन्छ । यो कुरा सबै दलले सोच्न जरुरी छ ।
अतः यस घडीमा आदरणीय उमेदवार तथा मतदाताहरूले निम्नलिखित केही कुराहरूमाथि एकपटक होइन, पटकपटक सोचेर मात्र कदम चालिदिनुहुन सादर अनुरोध छ । मुख्यतः वडा, पालिकादेखि जिल्लासम्म यस कुरामा विशेष रूपले सचेत हुन आवश्यक छ ।
(क) उमेदवारज्यू,
१) तपाईंको उमेदवारी तपाईंकै हितका लागि कि जनताको सेवाका लागि ?
२) के अरू तपाईंभन्दा सक्षम छैनन् ? तपाईं नै किन ?
३) के दलमा तपाईंले भन्दा बढी योगदान दिएका व्यक्ति छैनन् ? छन् भने उनीहरूले किन अवसर नपाउने ?
४) तपाईंभन्दा ज्येष्ठ र कनिष्ठको पालो कहिले आउने ?
५) सधैँ जनताको सुखदुःखमा साथ दिनुभएको छ ?
६) जागिर वा व्यवसायका कारण बैठकमा जतिबेला पनि उपस्थित हुन सक्नुहुन्न कि ? यसबारे सोच्नुभएको छ ?
७) विजयपछि धोका दिएर विदेश बस्न त जानुहुन्न नि ? कि भिसा लागिसकेको छ ?
८) घरको आर्थिक एवम् पारिवारिक अवस्था कस्तो छ ? नियमित आय छ ? स्वतन्त्र हुनुहुन्छ ?
९) के के काम गर्ने भन्नेबारे कार्ययोजना बनाउनुभएको छ कि त्यसै लहडमा उठ्न लाग्नुभएको हो ?
१०) वचन पूरा गर्न सक्नुहुन्छ भन्ने आधार के छ ?
११) पहिला पनि यही पदमा हुनुहुन्थ्यो कि ? फेरि पनि तपाईं नै किन ? अथवा धेरै पटक हार्नुभएको थियो भने पटकपटक किन हारेँ भनेर आफ्नो मूल्याङ्कन गर्नुभएको छ ?
१२) सूचनाप्रविधि, यातायातका साधन र समयको पालनामा कति दुरुस्त हुनुहुन्छ ?
१३) सवै उमेर, जाति, क्षेत्र आदिलाई कसरी समेट्नुहुन्छ ?
१४) आफू जित्न उठ्दै हुनुहुन्छ कि अरू (दलभित्रकै) लाई हराउन ?
१५) दलको विधान, सिद्धान्त र आफूले गर्ने काम, कर्तव्यबारे जानकारी छ ?
१६) अग्रज नेता, दलको इतिहास र सिद्धान्तको अध्ययन गर्नुभएको छ ?
१७) राजनीतिलाई पेशा सम्झनुभएको छ कि सेवा ?
१८) यसअघि दल र समाजसेवामा हुनुहुन्थ्यो कि केन्द्रीय केही नेताको जीवनशैली देखेर आज एक्कासि मन पलाएको हो ?
१९) तपाईं विद्यार्थी, युवा, महिला आदि कुन सङ्गठनमा हुनुहुन्छ ? दलमा दाबी गर्ने समय भयो ?
२०) आफ्नो दलको विचार र आदर्शका आधारमा विपक्षीसँग तर्क गर्न सक्नुहुन्छ ?
२१) कतै कसैले तपाईंको राजनीति समाप्त पार्न वा आफ्नो स्वार्थ पूरा गर्न तपाईंलाई प्रयोग त गरेको छैन ?
२२) आफूसँग विमति राख्नेलाई पनि सम्मान र स्थान दिन सक्नुहुन्छ ?
२३) यसअघि आफ्नै दलका उमेदवारलाई हराएर विपक्षीलाई जिताउन लाग्नुभएको थियो कि ? लाग्नुभएको थियो भने आज कुन नैतिकताले उमेदवारी दिँदै हुनुहुन्छ ?
२४) क्रियाशील सदस्यका नाताले दिनमा २ घन्टा पार्टीको काम गर्नुभएको छ ?
२५) लिगेसीका आधारमा मात्र उठ्दै हुनुहुन्छ कि आफ्नै योगदान र योग्यताका आधारमा ?
२६) लबी (समूह) मा लाग्नुभएको छ भने त्यो विचारमा आधारित छ कि शक्ति र सत्तामा ?
(ख) मतदाताज्यू,
१) तपाईंको मत नयाँलाई कि पुरानै अनुहारलाई ? किन ?
२) वहाँ त्यस पदका लागि योग्य हुनुहुन्छ ?
३) वहाँ दल र जनताप्रति प्रतिबद्ध हुनुहुन्छ ?
४) काम नगर्ने र खराब व्यक्तिलाई दण्ड दिने समय यही हो, ख्याल गर्नुभएको छ ?
५) कतै दल, विचार र उसको त्यागलाई भन्दा नाता, जात क्षेत्र, लिङ्ग आदि कुरालाई त महत्त्व दिनुभएको छैन ?
६) तपाईंको एउटा भोट निर्णायक हुन सक्छ, ख्याल गर्नुभएको छ ?
७) पार्टी पुरानै ढर्रामा चल्यो भन्नुहुन्छ तर सक्षम र इमान्दार व्यक्तिलाई भोट नहाली उही पुराना वा उस्तैलाई भोट हाल्नुहुन्छ, अनि कसरी परिवर्तन हुन्छ ?
कम्तिमा यति कुरामा ध्यान दिएर उमेदवारी दियौँ र मतदान गर्यौँ भने अवश्य परिवर्तनको सुरुवात हुनेछ अन्यथा ‘बाह्र वर्ष रामायण पढ्यो सीता कसकी जोई’ हुनेछ ।
जय नेपाल ।
(लेखक पौड्याल वीपी चिन्तन प्रतिष्ठान् चितवनका अध्यक्ष हुन् )
तपाइँको प्रतिक्रिया