देउवाको सरकार टालाटुली बाटुली, कति राम्री पुलतीजस्तै: ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार टालाटुली बाटुली, कति राम्री पुतलीजस्तो भएको बताएका छन्।
सोमबार च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको एमालेको १० औं केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको भएको बताएका हुन्।
उनले अब सत्ताको दुरूपयोग गरेर आफूहरूमाथि हमला हुन सक्ने बताए। ‘अब सत्ताको दुरूपयोग गरेर हामीमाथि हमला सुरू गर्छन्। जनविरोधी काम सुरू गर्छन्,’ ओलीले भने,‘हाम्रो पंक्तिमाथि हुने सम्भाव्य षडयन्त्र र आक्रमण अनुमान गरेका छौं।’
उनले कांग्रेस र माओवादी दुबैप्रति आक्रोश पोखे। ‘कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो। माओवादी शिथिल छ नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो,’ ओलीले भने,‘विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारू ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनु पर्दछ।’
उनले अब जनदबाबबाट प्रतिक्रियावादीहरूलाई गर्ने हमला परास्त गर्न संगठन निर्माण गर्ने, आफ्नो सरकारले गरेको राम्रो कामको प्रचार गर्ने, वर्तमान सरकारको भण्डाफोर गर्नु पर्ने बताए। एमाले चिचिलो काँक्रोजस्तो अरूले औंला ठडाएर देखाउँदा झरेर जाने चिज नभएको ओलीको भनाइ थियो।
तपाइँको प्रतिक्रिया