चितवनमा निजी गाडीको माग बढ्यो, आयातले धानेन
चितवन – चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै निजी गाडीको माग ह्वात्तै बढेको छ । कोभिडका संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गरेर यात्रा गर्नुपर्ने भएकोले निजी गाडीको माग बढेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले असार महिनायता निषेधाज्ञा खुकुलो पार्दै लगिरहेको छ । त्यसयता कोभिडका समयमा सुस्ताएको निजी प्रयोजनका चार पांग्रे सवारीको बजार चलायमान हुँदै गएको हो । सामाजिक दुरी कायम गरेर यात्रा गर्नुपर्ने तथा बैंकको ब्याजदर पनि घटेकोले गाडीको माग बढेको हो । अहिले बैंकहरुले औसत ८ देखि १० प्रतिशतसम्म ब्यादर लिने गरेका छन् । यस अघि औसत १२ देखि १४ प्रतिशतसम्म ब्याज लिने गरेका थिए ।
अहिले बिशेष गरी साना गाडीको माग उच्च रहेको पाईन्छ । २० देखि ४० लाखसम्मका गाडीको माग उच्च रहेको व्यवसायीहरु बताउछन् ।बजारमा गाडीको माग बढ्दा व्यवसायीहरुलाई सप्लाई गर्न भ्याई नभ्याई भएको छ । नेपालमा बिक्री हुने अधिकाशं गाडीहरु भारतमा उत्पादन हुने गर्दछन् । तर भारतबाट माग अनुसार आयात हुन नसक्दा बुक भएका गाडी डेलिभरी गर्नै समस्या भइरहेको व्यवसायीहरुको भनाई छ । अहिले भारतीय बजारमा पनि निजी गाडीको माग बढेको छ । यस कारण पनि सामान्य दरमा मात्रै नेपालमा आयात हुँदा माग धान्न व्यवसायीहरुलाई गाह्रो भइरहेको छ । माग अनुसार आयात नहुँदा बुक भएको गाडी डेलिभरी गर्न एक महिना भन्दा बढी लाग्नसक्ने देखिन्छ ।
चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष ईश्वर श्रेष्ठ कोरोनाका कारण स्वास्थ्यलाई मध्यनजर गर्दै निजी गाडी प्रतिको आकर्षण बढेको बताउछन् । निषेधाज्ञा खुकुलो भएसँगै बुकिङ बढ्नुका साथै इन्क्वाइरी जेनेरेट राम्रो भइरहेको उनको भनाइ छ । अहिले निजी गाडीको माग बढ्नुको मुख्य कारण स्वास्थ्य नै भएको उनको भनाई छ । आफ्नोसँगै परिवारको स्वास्थ्यको ख्याल गर्दै मानिसहरु निजी गाडी नै प्रयोग गर्न चाह बढेको उनले बताए ।
निषेधाज्ञा खुकुलो हुँदै जाँदा व्यवसायहरु बिस्तरै खुल्दै गएकोले पनि निजी गाडीको माग बढेको उनको बुझाई छ । ‘निजी गाडीको माग बढ्नुको मुख्य कारण त स्वास्थ्य नै हो । सार्वजनिक सवारी पूर्ण रुपमा खुलेका छैनन् भने खुलेकामा पनि मापदण्ड पालना गरेर यात्रा गर्न समस्या छ । यसैले आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गर्दै निजी गाडी किन्नेहरु बढेका हुन्, उनले भने, सँगै व्यवसायीक प्रयोजनका लागि पनि गाडीको माग बढ्दो छ ।’
असारमा मसान्त सकिएकोले अबको केही दिनमा अझै निजी गाडीको बिक्री वितरण बढ्ने उनको अनुमान छ । यस अघि असारमा बैंकले लगानी रोकेको थियो । अहिले बैंकहरुको कर्जा अनुपात (सिडि रेसियो) घटेको भन्ने खबर आइरहेको भन्दै उनले साउन दोस्रो सातापछि बढ्न सक्ने र त्यसपछि गाडीको बिक्री पनि बढ्ने बताए ।
अहिले पनि जिल्लाभर नै सबै जसो गाडीको शो रुममा बुकिङ र इन्क्वाइरी जेनेरेट बढीरहेको उनले बताए । उनी आँफै प्रवन्ध निर्देशक रहेको पिनाकल ट्रेडिङमा दैनिक १-२ वटा गाडी बिक्री हुने गरेको छ । बिशेषगरी २५ देखि ६० लाख मुल्यको गाडीमा ग्राहकको आकर्षण बढी रहेको उनले बताए । हुण्डाईको नियोस, भेनु र क्रेटा नै बढी बिक्री हुने गरेको छ । नियोसको बजार मुल्य २८ देखि ३४ लाखसम्म रहेको छ । यस्तै भेनुको ३७ देखि ४४ तथा क्रेटाको ४७ देखि ६५ लाख छ ।
एबीएस एक्स्पर्टका प्रवन्ध निर्देशक अन्जन शाक्य निषेधाज्ञा खुकुलो भएसँगै निजी गाडीको माग बढेको बताउछन् । तर माग अनुसार डेलिभरीमा भने समस्या रहेको छ । असार १५ यता मात्रै २६ वटा गाडीको बुकिङ भइसकेको शाक्यले बताए ।
२० देखि ३० लाखसम्मको गाडीको माग अझ उच्च रहेको उनको भनाई छ । उनका अनुसार अधिकाशंले निसानको म्याग्नेट र ड्याट्सन गो बुकिङ गर्ने गरेका छन् । अहिले पनि दैनिक २ देखि ३ वटा गाडी बुकिङ हुने गरेको छ । बुकिङ भएका मध्ये १० जनालाई गाडी हस्तान्तरण गरिसकेको उनले बताए ।
भारतमा कोभिड अझै नियन्त्रणमा आउन नसक्दा माग अनुसार आयातमा समस्या भएको उनको भनाई छ । ‘गाडी आउने भारतबाट हो, भारतमा अझै कोभिड नियन्त्रणमा आउन सकेको छैन, उनले भने, माग बढीरहेको छ, तर त्यही अनुपातमा आयात हुन सकिरहेका छैन ।’ बिभिन्न कार्यालयमा काम गर्ने कर्मचारी तथा बिदेशबाट फर्किएकाहरुको बुकिङ बढी रहेको उनले बताए ।
मारुति सुजुकीको गाडी बिक्री गर्दै आएको जेपी मोटर्सले निषेधाज्ञा खुकुलो भएयता मात्रै ६२ वटा बुकिङ लिइसकेको छ । जसमध्ये २७ वटा ग्राहकलाई हस्तान्तरण गरिसकेको प्रवन्ध निर्देशक प्रतिक श्रेष्ठले बताए । २५ देखि ४५ लाखसम्म पर्ने ब्रेजा, स्विफ्ट जस्ता गाडीको माग उच्च रहेको उनले बताए ।
तर माग अनुसार ग्राहकलाई गाडी डेलिभरी गर्न नै समस्या हुने गरेको उनको भनाई छ । ‘अहिले गाडीको माग उच्च छ । गाडी भारतबाट आउने हो, भारतमा पनि कोभिड संक्रमण कायमै रहेकोले माग अनुसार गाडी आउन सकेको छैन, उनले भने, अहिले स्टक रहेका गाडीहरु नै बिक्री गरिरहेका छौं ।’
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सामाजिक दुरी कायम नहुने भएकोले मानिसहरु सानै भए पनि निजी गाडीमा नै आकर्षित भएको उनको भनाई छ । यस्तै पैसा भएर पनि पहिले गाडीको आवश्यकता महसुस नगरेकाहरुले पनि अहिले गाडी किन्ने गरेको उनले बताए । ‘कोभिड संक्रमणका कारण पब्लिक गाडीमा सामाजिक दुरी कायम गर्न सम्भव छैन । परिवारसँग यात्रा गर्नका लागि बरु सानै भए पनि आफ्नै गाडी किनौं भन्ने सोच मानिसमा आएको छ, उनले भने, कतीपय पैसा भएर पनि पहिले गाडीको आवश्यकता महसुस नगरेकाहरुले पनि अहिले गाडी किन्न थालेका छन् ।’
कियाको आधिकारीक बिक्रेता थ्रीडिज मोटर्सका प्रवन्ध निर्देशक दिनबन्धु चापागाई व्यक्तिगत तथा पारिवारको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मानिसहरु निजी गाडी प्रति आकर्षित भएको बताउछन् । थ्रीडिज मोटर्सले असार महिनायता १५ वटा गाडी बिक्री गरिसकेको छ ।
अहिले २० वटा गाडीको बुकिङ रहेको उनले बताए । ५० लाख भन्दा कम मुल्यका गाडीको बिक्री बढी हुने गरेको उनले बताए । सोनेटो र सेल्टसकै बिक्री र बुकिङ बढी छ । यसमा पनि सोनेटो अझै बढी ग्राहकको रोजाईमा पर्ने गरेको छ ।
५ महिनापछि मात्रै गाडी आएकोले अहिले बुकिङ भएका सबै गाडी डेलिभरी गर्न नसकिएको उनले बताए । निषेधाज्ञा खुकुलो भएसँगै व्यवसायीक प्रायोजन तथा पारिवारिक यात्राका लागि निजी गाडी किन्ने ग्राहक बढेको उनको भनाई छ ।
भोल्कस्वागनको गाडी बिक्री गर्दै आएको शुभश्री मोटर्समा साउन महिना सुरु भएयता मात्रै २ वटा नयाँ बुकिङ भइसकेको छ । त्यस अघि ३ वटा गाडी ग्राहकलाई सप्लाई गरिसकिएको शुभश्री मोटर्सका सेल्स एक्जुकेटिभ सुरज राउतले बताए ।
निषेधाज्ञा खुकुलो भएसँगै गाडीको बुकिङ र इन्क्वारीका लागि आउनेहरु बढेको उनको भनाई छ । भोल्कस्वागनको पोलो ट्रेडलाइन प्लस र पोलो टिएसआईको माग बढी रहेको उनले ताए । पोलो ट्रेडलाइन प्लस बजार मुल्य ३० लाख ९० हजार छ भने टिएसआईको ४० लाख छ ।
बिशेष गरी सार्वजनिक सवारीमा परिवारसहित यात्रा गर्दा कोरोनाको जोखिम उच्च रहने भएकोले नै निजी गाडीको माग बढेको उनको पनि बुझाई छ । ‘पब्लिक गाडीमा परिवारसहित यात्रा गर्न अहिलेको अवस्थामा समस्या नै छ, उनले भने, यही कारण अली अली गरेर भए पनि मानिसहरु निजी गाडी प्रति आकर्षित भएका हुन् ।’
तपाइँको प्रतिक्रिया