पव्लिक कलेजले चिनाएको चितवन
बालकुमारी कलेज स्थापनापछि भरतपुरमा बहुमुखी क्याम्पस खोल्ने लहरै चल्यो । जिल्लामा अहिले १४ पव्लिक कलेज छन् । निजी कलेजहरु पनि खुल्न थाले । उबेला चितवनमा वीरेन्द्र, रामपुर, सहिद स्मृति क्याम्पसमात्रै थिए । चाहेका विषय पढ्न काठ्माण्डौ पुग्नुपर्दथ्यो । अभिभावकले पढाउने इच्छा राखेपनि कैयन विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुनुपथ्र्यो । अर्थ र दुरीको अवरोध हटाउनु सजिलो थिएन ।
कलेज स्थापना गर्न चितवनमा जागरण ल्याउने व्यक्ति मानिन्छन् जगन्नाथ पौडेल । त्यो बेला नाम चलेका अधिवक्ता थिए । कैयन चर्चित राजनीतिक मुद्धाहरुमा बहस, पैरवी गरिसकेका थिए । मुद्धाको बहस, पैरवीका लागि काठ्माण्डौबाट चितवन झरेका पौडेललेनै कलेज खोल्न सकिन्छ भनेर पहल थाले । अञ्चलाधिस लक्ष्यबहादुर गुरुङ र सिडियो चन्द्रिकानन्द खरेल थिए । अवधारणापत्र लिएर अञ्चलाधिस र सिडियोकोमा पुगे । “जग्गा खोजीमा जुट्यौँ, तर प्रस्तावित ठाउँमा पाएनौँ”, जगन्नाथ पौडेल सम्झन्छन्, “कलेज खोल्न सजिलो थिएन, तर हरेश मानिएन ।” हालको प्रहरी तालिम केन्द्र भएको ठाउँको मासिन लागेको जंगलमा कलेज बनाउन खोजिएको थियो । तर, सफल हुन सकेनन् । सरकारी तथा ऐलानी जग्गा नपाउने स्थिति बन्यो । प्रजातन्त्रवादीहरु मिलेर खोल्न लागेको कलेज भनेर कैयन अवरोध भए । चितवन माविको खाली जग्गाको भोगाधिकार लिने प्रयास पनि असफल बन्यो ।
त्यो बेला पञ्चायतले प्रजातन्त्रवादीलाई सरकारले विरोधि भन्थ्यो । बालकुमारी कलेजका संस्थापक सदस्य तथा हालका सञ्चालक समिति अध्यक्ष हुन् पौडेल । उनकै अग्रसरतमा कलेज स्थापनाका लागि अन्य हातहरु जोडिन थाले । बालकुमारी माविका तत्कालिन अध्यक्ष जोहारलाल प्रधानकै अगुवाईमा कलेजलाई जग्गा प्राप्त भयो । “धेरैले नाफा–घाटा के हुन्छ भनेर प्रश्न गर्नुहुन्थ्यो”, विगत सम्झदै पौडेल भन्छन्, “तर हामीले प्रतिवद्ध सञ्चालक समिति बनायौँ, अब्बल कलेज बन्न सक्यो ।” कानुन र व्यवस्थापन संकायमा पढाइ हुन थाल्यो । ३ वर्ष जति पौडेलले भोलेन्टियर बनेर पढाए ।
पौडेल प्रिन्सिपल बन्ने चर्चा थियो, तर अर्कै व्यक्ति प्रिन्सिपल बने । निराश बनेनन् । कलेज खुलेकोमा उनी खुशी थिए । सुरुका वर्षमा करिब ३ सय विद्यार्थी पढ्न आए । भवन नहुदा बालकुमारी स्कुलकै पुरानो भवनमा विहानी सिफ्टमा पढाई हुन्थ्यो । बालकुमारी स्कुलले भोगाधिकार दिएको १० कट्टठामा संरचना बने । व्याचलरतहको क्रमश सम्बन्धन लिने काम भए । पौडेल सहित जोहारलाल प्रधान, गंगाराम श्रेष्ठ, केएल भुषण, महेन्द्रलाल श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, हरिशचन्द्र पिया, सुभाष प्रधान, दिगम्बर पिया, केशव कँडेल, लगायतको समूहले बालकुमारी कलेजलाई दौडाउन सफल बन्यो । सुरुवाती दिनमा कलेजको उद्येश्य, सम्भाव्यता, आम्दानी–खर्च अनुमान लगायतको विश्लेष्णात्मक प्रतिवेदन बनाउने, स्थानीयलाई अग्रसर बनाउने काममा अग्रमोर्चामा थिए ।
सञ्चालक समितिबाट २ हजार रुपैयाँका दरले आर्थिक संकलन गरेको सम्झन्छन् । “सुरुमा २ हजारका दरले १ लाख जम्मा भयो, सम्बन्धन लिँदा ६ लाख जति चाहियो”, उनी भन्छन्, “त्यो बेला स्कुल र स्थानीय अगुवाबाटै सहयोग जुट्यो ।” बालकुमारी कलेज २०४३ असोज २ मा स्थापना भएको हो । डिग्री तहमा स्वायत्त कार्यक्रम अन्र्तगत वित्त शास्त्रको पढाई हुन्छ । यस्तै त्रिवितर्फको एमएड, एमविएस, एमविएमा पढाइ हुन्छ । व्याचलर तहमा त्रिवि र पूर्वाञ्चलबाट सम्बन्धन पाएका संकायमा पढाई हुन्छ । विविएस, विविए, विआइएम, विआइसीटीई, विएचएम, विएड, नर्सिङको पढाई हुन्छ ।
२०७२ मा म्यानेजमेण्ट अडिटले अनियमितता औल्याउँदै आर्थिक संकटमा फसेको देखाएपछि कलेजमा निकै हलचलनै मच्चियो । सञ्चालक समितिको म्याद नथपिने स्थितिमा पुग्यो । कलेजको संस्थापक सदस्य पूर्व सांसद जगन्नाथ पौडेल २०७४ मा समितिको अध्यक्ष बने । दोस्रो कार्यकालका लागि फेरी सर्वसम्मत अध्यक्ष चुनिए । ३१ वर्षपछि उनी कलेज हाँक्ने ठाउँमा फर्किए । शून्य स्थितिमा पुगेको कलेजको आर्थिक अवस्थालाई सुधारे । आर्थिक सुशासन, पूर्वाधार विकासमा उल्लेखनीय काम गरे । “विश्वविद्यालय बनाउने सोच छ”, जगन्नाथ पौडेलले भने, “स्वायत्त कार्यक्रम विस्तारै बढाउँदै लगेर नमुना विश्वविद्यालय बनाउने लक्ष्य छ ।”
बालकुमारी कलेजले २०६६ माघमा क्यूएए पाएको छ । आइएसओ ९००१ बाट सर्टिफाइड छ । उपत्यका बाहिर व्यवस्थापन संकायमा उत्कृष्ट कलेजका रुपमा बेलाबखत अवार्ड पाइरहेको छ । हालसम्म १६ हजार बढी विद्यार्थी कलेजबाट पासआउट भैसकेका छन् । ३ सय ५६ जना बोर्ड टपर भएका छन् । ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । पूर्वसांसद जगन्नाथ पौडेल करिब १० वर्ष कलेजसँग थोरै टाडिएका थिए । २०४६ सालको राष्ट्र विप्लवको आरोपमा पटक पटक जेल परे । २०४९ देखि २०५३ सम्म तत्कालिन भरतपुर नगरपालिकाको उपमेयर बने । २०५४ देखि २०६०सम्म राष्ट्रिय सभा सदस्य बने । सो अवधिमा टाडिएपनि पौडेल फेरी कलेजसँगै छन् ।
बालकुमारी कलेज खोल्दा होस् या ब्राण्डिङ गर्ने बेला पौडेल अग्रमोर्चामै छन् । “शिक्षा–स्वास्थ्यमा सरकारको मात्रै मुख ताकेर हुदैन”, उनी भन्छन्, “हरेक व्यक्ति अग्रसर बन्नुपर्छ, लगानी या ज्ञानसीपबाट हरेकले योगदान गर्नुपर्छ ।” चितवनबाटै प्रजातन्त्रवादी प्राध्यापकहरुले केही वर्ष यता पव्लिक विश्वविद्यालयको माग उठाउँदै आएका छन् । आजभोली देशभरबाट पढ्न आउने ठाउँका रुपमा चितवन चिनिएको छ । चितवन शैक्षिक हबका रुपमा विकसित भएको छ ।
तपाइँको प्रतिक्रिया