चितवन ट्राफिकको राजस्व ७० प्रतिशत बढ्यो, दुर्घट्ना र मृतक पनि बढे
चितवन – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गत आर्थिक वर्ष २०७७/७८ मा राजस्व संकलन बढेको छ । आर्थिक वर्ष ७६/७७ को तुलनामा ७७/७८ मा राजस्व करिब एक करोडले बढेको हो ।
ट्राफिक कार्यालयले आर्थिक वर्ष करिब मा ३ करोड ३० लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस अघि आर्थिक वर्ष ७६/७७ मा २ करोड ३१ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । ट्राफिक कार्यालयको तथ्याङ्क हेर्दा आर्थिक वर्ष ७७/७८ मा राजस्व करिब ७० प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष ७७/७८ मा ३८ हजार ६२२ वटा सवारी साधन कारबाहीमा परेका थिए । गत आर्थिक वर्षमा सबै भन्दा बढी राजस्व मोटरसाइकलबाट संकलन भएको छ । मोटरसाइकलबाट मात्रै ९४ लाख ५५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । कारबाहीमा परेका ११ हजार २३१ वटा मोटरसाइकलबाट उक्त राजस्व संकलन भएको हो ।
यस्तै कारबाहीमा परेका ९ हजार ७८४ वटा कार तथा जिपबाट ८५ लाख २८ हजार ५००, ८ हजार ५८ वटा ट्रक तथा टिपरबाट ७१ लाख ९६ हजार, ४ हजार २८४ वटा बस तथा माइक्रोबाट ३६ लाख ९१ हजार ५००, एक हजार ४८३ वटा ट्याक्टरबाट १२ लाख ८८ हजार र ३ हजार ७८२ वटा टेम्पो तथा अन्य सवारी साधनबाट २८ लाख ७७ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।
कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञा उल्लघंन गर्ने तथा ट्राफिक नियम विपरित सवारी साधन चलाउनेहरुबाट उक्त राजस्व संकलन भएको हो ।
दुर्घटना र क्षति दुबै बढ्यो
लकडाउन र निषेधाज्ञाका बाबजुत पनि चितवनमा आर्थिक वर्ष २०७७/७८ मा सवारी दुर्घटना बढेको छ । ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष ७६/७७ को तुलनामा गत ७७/७८ मा सवारी दुर्घटना ६५ प्रतिशतले बढेको हो ।
आर्थिक वर्ष ७७/७८ मा जिल्लाभर ६६४ वटा सवारी दुर्घटना भएका छन् । यस अघि आ.व ७६/७७ मा ४३३ वटा सवारी दुर्घटना भएका थिए । ट्राफिक कार्यालयका अनुसार सबै भन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । आर्थिक वर्ष ७७/७८ मा जिल्लाभर ३२१ वटा मोटरसाइकल दुर्घटना भएका छन् ।
दुर्घटनासँगै आर्थिक वर्ष ७७/७८ मा मृतकको संख्या पनि बढेको छ । आ.व ७७/७८ मा सवारी दुर्घटनामा परी एक सय २८ जनाको मृत्यु भएको छ । २९० जना गम्भीर तथा ४१३ जना सामान्य घाइते भएका छन् । यस अघि आ.व७६/७७ मा १०७ जनाको दुर्घटनामा परी मृत्यु भएको थियो ।
आर्थिक वर्ष ७७/७८ मा दुर्घटनामा ज्यान गुमाएका मध्ये पुरुष मात्रै १०१ जना रहेका छन् । यस्तै महिला २२, २ बालक तथा ३ बलिका रहेका छन् । भित्री सडकमा सवारी चालकको लापरबाहीका कारण दुर्घटना बढेको चितवनका ट्राफिक प्रमुख भगवानराज थापाको भनाई छ । दुई पङ्ग्रे सवारी साधनको लापरबाही भित्री सडकमा बढी देखिएको उनले बताए ।
लकडाउन र निषेधाज्ञा हुँदा पनि दुर्घटना र क्षति किन बढ्यो त भन्ने प्रश्न गर्दा उनले भने, ‘मुख्य राजमार्ग भन्दा पनि भित्री सडकमा सवारी चालकहरुको लापरबाहीले दुर्घटना बढेको हो । त्यसमा पनि बिशेष गरी दुई पाङ्ग्रे सवारी साधनको ।’
भित्री सडकमा ट्राफिक प्रहरीको पहुँच कम हुने भएकोले सिकारुले पनि सवारी साधन चलाउने, तिब्र गतिमा हुँईक्याउने लगायतका कारणले दुर्घटना बढेको उनको भनाई छ । ‘भित्री सडकमा लाइसेन्स नभएकाले नि चलाउछन्, सिकारुले नि चलाउछन्, निषेधाज्ञामा मुख्य राजमार्गमा सवारी साधन खास्सै नचले पनि भित्री सडकमा सवारी साधन चलाउछन्,’ उनले भने । यस्तै निर्माण सामाग्री बोक्ने सवारी साधनले गर्दा पनि दुर्घटना बढेको उनको भनाई छ ।
तपाइँको प्रतिक्रिया