चितवनमा आजदेखि कोरोनाको खोप अभियान सुरु
चितवन – चितवनमा आज (शुक्रबार) कोरोना भाइरसविरुद्ध भेरोसेल खोप अभियान सुरु भएको छ । शुक्रबारदेखि आइतबारसम्म तीन दिन जिल्लाभर भेरोसेलको पहिलो मात्रा लगाइने भएको हो ।
चितवनमा अहिले १८ हजार मात्रा भेरोसेल खोप प्राप्त भएको छ । जिल्लाभरका सबै स्थानीय तह अन्तर्गत वडामा रहेका स्वास्थ्य संस्थाको खोप केन्द्रमा भेरोसेल खोप अभियान सञ्चालन भएका छन् । यस पटक खोप लगाउनका लागि ८३ वटा केन्द्र तोकिएको छ ।
चितवनमा दोस्रो पटक भेरोसेल खोप अभियान सञ्चालन भएको हो । यस अघि पहिलो चरणमा जेष्ठ २५,२६ र २७ गते जिल्लाभरका १० हजार ८९२ जनाले भेरोसेलको पहिलो डोज लगाएका थिए भने असार २२, २३ र २४ गते १० हजार ४४२ जनाले भेरोसेलको दोस्रो डोज लगाएका थिए ।
क-कसले पाउँछन् खोप
यस पटक कोरोनाविरुद्धको भेरोसोल खोप विश्व विद्यालय तथा विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीहरुले लगाउन पाउनेछन् । यस्तै सार्वजनिक सवारी साधनका चालक तथा सहचालक, अक्सिजन उत्पादन गर्ने उद्योग, पेट्रोलपम्पमा काम गर्ने कर्मचारी तथा औषधी उत्पादन गर्ने उद्योगका कर्मचारीहरुले पनि खोप पाउने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार ५५ वर्ष माथिका पहिलो खोप लगाउन छुटेका नागरिकहरु, कोभिडविरुद्धको अभियानले सरकारले तोकेका अत्यावश्यक सेवा प्रवाह गर्ने परेका तर यसअघि छुटेका कर्मचारी, स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, पत्रकार, बैंक, संस्थान कर्मचारी तथा जनप्रतिनिधिहरुले पनि खोप लगाउन पाउनेछन् । यस्तै खोप अनिवार्य गरिएका देशमा जाने नागरिकहरुलाई पनि लगाउन पाउनेछन् ।
खोप लगाउन जाँदा उमेर समूहको हकमा नागरिकता, परिचयपत्र वा परिचय खुल्ने सरकारी कागजात अनिवार्य लानु पर्नेछ । प्रध्यापक, शिक्षक तथा कर्मचारीका हकमा परिचय पत्र, खोप अनिवार्य गरिएका देशमा जाने नागरिकहरुले पासपोर्ट र भिसाको आधारका कागजात, सवारी चालकको हकमा लाइसेन्स तथा सहचालकको हकमा सम्बन्धित निकायबाट प्रमाणित भएको कागजात र अत्यावश्यक सेवा प्रवाह गर्नेहरुले परिचय तथा प्रमाण खुल्ने कागजात लानु पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया