नेपाली सेनाका आठ पृतना आजदेखि खारेज
नेपाली सेनाका आठ पृतना आजदेखि खारेज भएका छन् । सेनाले आजदेखि चार ठाउँमा केन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना लागू गरेको छ ।
काठमाडौँ उपत्यका र सात प्रदेशमा रहेका आठ पृतना आजदेखि खारेज भएका हुन् । अब कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौँ उपत्यकाका लागि एक गरी चारवटा केन्द्रीय कमाण्ड लागु हुनेछन्। यसलाई सेनाले तीन जोड एक केन्द्रीय कमाण्ड भनेको छ।
सेनाले नयाँ संरचनाबाट विद्यमान बजेट र दरबन्दी नबढ्ने पनि स्पष्ट पारेको छ। कोशी पूर्वलाई पूर्वी कमाण्ड, काठमाडौँ उपत्यकाबाहेक कोशी र गण्डकी बीचको भू–भागलाई मध्य-कमाण्ड, काठमाडौँ उपत्यकालाई उपत्यका कमाण्ड र कर्णाली र सुदूरपश्चिमलाई समेटेर पश्चिम कमाण्डको संरचना तयार पारेको छ।
गत फागुनमै मन्त्रिपरिषदले नयाँ संरचना लागू गर्न स्वीकृति दिए पनि बजेटलगायतका कारण औपचारिक कार्यक्रम भने आजदेखि मात्रै गर्न लागिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
तपाइँको प्रतिक्रिया