चितवनमा ६ महिनामा ४२ मानवअधिकार उल्लंघनका घटना
अस्मिता पराजुली,
चितवन – चितवनमा ६ महिनाको अवधिमा ४२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज (बिहीबार) भरतपुरमा सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७७ – ७८ को पुष १७ गते देखी असार १६ गतेसम्म जिल्लाभर ४२ वटा मानव अधिकार उल्लंघनका घटना भएका हुन् ।
तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा जिल्लाभर बालिका बलात्कारका घटना १३, बाल यौन दुरुपयोगका घटना १०, महिला बलात्कारका घटना ६ , बालिका बलात्कार प्रयासका घटना ३ र महिला बलात्कार प्रयासका २ वटा घटना भएका छन् ।
यस्तै वहुविवाह ३ , बालिका बेचबिखन १ , बालविवाह १ , आत्महत्या दुरुत्साहन १ , बालिका अपहरण १ र हत्या १ वटा घटना भएको छ ।
इन्सेकले दिएको जानकारी अनुसार आत्महत्या दुरुत्साहनमा २८ वर्षीय सविता भण्डारी धितालले गत बैशाख ४ गते आफ्नै घर भरतपुर महानगरपालिका १९ स्थित आफ्नै घरमा झ्यालको ग्रीलमा पासो लगाई उनले आत्महत्या गरेकी थिईन ।
मर्नुको कारण पारिवारिक तनाव रहेको भन्दै मृतकको बुवा रामचन्द्र भण्डारीले बैशाख १० गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । मुद्धा चितवन अदालतमा विचाराधिन रहेको छ । आरोपीतहरु धरौटिमा छुटेका छन् ।
यस्तै हत्या भएका इच्छाकामना गाउँपालिका ५ बस्ने ३६ वर्षीय गोपी प्रजा रहेका छन् । बैशाख ३१ गते सोहि वडाको ३ नम्बर पुलनजिक भीरमा स्थानिय ५५ वर्षीया काइली भन्ने सर्किना चेपाङ्गले खुर्पाले हानी गोपीको हत्या गरेकी थिईन् ।
जेठ २ गते गोपीको छोराले इलाका प्रहरी कार्यालय मुग्लिनमा चेपाङ्गको विरुद्धमा उजुरी दिएका थिए । घास काट्न जादा गोपीले चेपाङ्ग माथि बलात्कारको प्रयास गर्दा आत्मरक्षाको लागि खुर्पाले प्रहार गरेको समाचार सार्वजनिक भएको थियो । तर, उनीहरु बीच लामोसमय देखि शारीरिक सम्बन्ध रहेको र आर्थिक मामिलाका कारण हत्या भएको इन्सेकको प्रतिबेदनमा जनाईएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक चिवतनका प्रतिनिधि दिपेन्द्र अधिकारीले अघिल्लो वर्षको सोही अवधिमा भन्दा अहिले मानवअधिकार उलंघनका घटनामा कमी आएको बताए । अघिल्लो वर्षको यसै अवधिमा ६० वटा मानवअधिकार उल्लंघनका घटना भएका थिए ।
अधिकारीका अनुसार ०७६ पुस १७ देखि २०७७ असार १५ गते सम्म ५८ वटा घटनामा महिला बलात्कारका घटना ९ वटा, बालिका बलात्कारका घटना १६ वटा, महिला बलात्कार प्रयासका घटना ६ वटा बालिका बलात्कारको प्रयासका घटना ४ वटा भएका थिए ।
यस्तै महिला हत्या ४, पुरुष हत्या पाँचवटा, बाल यौन दुव्र्यवहार ४, बहुविवाह ४ वटा भएका छन् ।आत्महत्या दुरुत्साहन २ वटा, मानव वेचविखनका २ वटा, बम बिस्फोटका १ वटा, हातहतियार १ र राज्य विरुद्ध अपराधका घटना २ वटा गरी ६० घटना भएका थिए । जिल्लामा मानव अधिकारका घटना अघिल्लो बर्षको तुलनामा कमी आएपनी रोक्न भने नसकिएको अधिकारीले बताए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार ढल्लाकोटीले तथ्याङ्कमा घटना कमी देखी पनि समाजमा मानवअधिकार उल्लंघनका घटनाले बिकराल रुप लिदै गएको बताए । उनले समाजमा घटनाको प्रकृती डरलाग्दो गरी देखा परेको भन्दै अहिलेको समाज कता गइरहेको छ भन्ने विषयमा सम्बेदनशिल भएर अघि वढ्नुपर्ने समय आएको बताए ।
त्यस्तै कार्यक्रममा नेपाल बार एशोसियसनका पूर्ब अध्यक्ष जग्गनाथ भण्डारी, यौनजन्य हिंसा विरुद्धको साझा अभियानका सह–संयोजक संगिता भण्डारी र नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले समाजमा अझै पनि हिंसा नघट्नु चिन्ता र बहसको बिषय भएको भन्दै हिंसा न्यूनीकरणका लागि सोच परिवर्तन गर्नुपर्ने बताए ।
तपाइँको प्रतिक्रिया