चितवन – बारम्बार पहिरो खसेर अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड दुबैतर्फी रुपमा सञ्चालनमा आएको छ । पहिरो पन्छाएर आज दिउँसो १ बजेबाट सडक दुबैतर्फी रुपमा खुलाइएको हो ।
शनिबार भरतपुर महाननगरपालिका २९ सेती दोभानमा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक बिहान एकतर्फी खुलाइएको थियो । अहिले दिउँसो १ बजेबाट भने सडक दुबैतर्फी रुपमा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।



डोजर ब्रेकर र जेसिभी प्रयोग गरी पहिरो पन्छाएर सडक खुलाइएको ट्राफिक प्रहरीले जानएको छ । सडक खुले पनि माथिबाट पहिरो र ढुङ्गा भने खसिरहेको ट्राफिक प्रमुख, प्रहरी निरीक्षक भागवानराज थापाले जानकारी दिए । प्रहरी निरीक्षक थापाले माथिबाट पहिरो र ढुङ्गा खसिरहेकोले जानकारी लिएर मात्रै उक्त सडक प्रयोग गर्न यात्रु तथा सवारी साधनका चालकहरुलाई आग्रह गरेका छन् ।
यस्तै सडक खुले पनि लामो जामका कारण सहज हुन भने समय लाग्ने उनले बताए । मुग्लिनतर्फ मुग्लिन बजारसम्म र नारायणगढ तर्फ रामनगरसम्म नै सवारी साधनको जाम रहेको छ ।