चितवन – लामो समयदेखि जापानमा बस्दै आएकी चितवनकी चेली गायिका टीका शर्मा ‘कोपिला’ को नयाँ तीज गीत सार्वजनिक भएको छ । जापानबाटै गीत संगीतमा सक्रिय टीकाको पहिलो तीज गीत ‘माइतिकै हेला’ सार्वजनिक भएको हो ।
टीकाकै शब्द तथा स्वर रहेको गीमा लोकप्रिय सर्जक सूर्य खड्काको संगीत छ । सार्वजनिक गीतमा चेलीलाई माइतीबाट नै हेला भएको कथा समेटिएको छ ।



जापानमा नै छायाँकन भएको गीतको भिडियोलाई गोबिन्द बिष्टले निर्देशन तथा छाँयाकन गरेका हुन् । भिडियोमा सम्पादन पनि बिष्टको नै रहेको छ । भिडियोलाई गायिका टीकासँगै रुप शर्मा, मुना लम्साल, दर्सना गिरि, प्रतीमा आचार्य, आरती आचार्य र रमा सापकोटालाई देख्न सकिन्छ ।
गायिका टीकाले परदेशमा रहे पनि आफ्नो देश र सँस्कृतिको मायाले झन् सताउने गरेकाले मौलिक गीत गाउन चाहना बढेको उनले बताइन् ।
संगीतकार खड्काले गीतले समग्र नेपाली नारीको पिडा पस्किनुको साथै जनचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
बाग्लुङमा जन्मिएर चितवनलाई उच्च शिक्षा र कर्मथलो बनाएकी उनी हाल रोजगारीका क्रममा जापानको योकोहामामा रहेकी छन् । सानैदेखि स्कूल तथा एफ एम रेडियोमा गीत गाउने गरेकी उनले स्थानीय तथा राष्ट्रिय प्रतियोगिताहरुमा थुप्रै पुरस्कार तथा अवार्ड पुरस्कार समेत जितेकी छन् । उनी तीज गीत प्रतियोगितामा चितवन एवं नवलपुर क्षेत्रमा विशेष चर्चा बटुल्न सफल बाग्लुङे बबाल समूहकी प्रमुख गायिका समेत हुन् ।


