तनहुँ – पहिराले बन्द भएकाे डुम्रे–बन्दीपुर सडक खण्ड चार दिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा यस सडक मर्मत गरिएपछि आंशिकरूपमा सञ्चालनमा आएको हो ।
पृथ्वीराजमार्गको डुम्रेबाट सात किलाेमिटरको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो । आंशिकरूपमा सडक खण्ड सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । ‘चार दिनदेखि सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भइरहेको थियो, आंशिकरूपमा भए पनि सञ्चालनमा आएपछि केही सहज भएको छ’ उनले भने ।


पहिराले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छ । गाउँपालिकाले बन्दीपुर गाउँपालिका–२ ढाडखोलाको पहिरो पनि हटाउन सुरु गरेको छ । पहिरोले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पुर्याएको छ । ठाउँ-ठाउँमा सडक भासिएको छ । पहिरोले गाउँपालिकाभित्रका सडक, विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानीमा क्षति पुगेको छ ।
गाउँपालिकाले बाढीपहिरा पीडित भएकालाई राहत वितरण सुरु गरेको छ । बन्दीपुर–२ का ७९ पहिरो पीडितलाई शनिवार त्रिपाल र चामल वितरण गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिए । उहाँका अनुसार अधिकांश घर बस्न नमिल्ने गरी जोखिममा परेको छ ।
‘कोही चर्चमा, कोही बाल विकास केन्द्र, कोही विद्यालय र सामुदायिक भवनमा आश्रय लिन बाध्य छन्’ उनले भने । बाढी पहिराले गाउँपालिकाभित्रका करिब १७२ घर जोखिममा परेको छ । बन्दीपुर १, २, ३ र ४ मा बाढी पहिरोबाट बढी क्षति पुगेको जनाइएको छ ।