दासढुङ्गामा खसेको ढुङ्गा फुटाउन आइतबारसम्मै लाग्ने

एटुजेड समाचार

चितवन – नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत दासढुङ्गामा खसेको ढुङ्गा फुटाउन अझै समय लाग्ने भएको छ । बिहीबार साँझ माथि पहाडबाट खसेको ढुङ्गा शुक्रबारबाट फुटाउन थालिएको हो ।

ढुङ्गा फुटाउने कार्यमा खटिएका इन्चार्ज अर्जुन निरौलाका अनुसार एक्साभेटरमा ब्रेकर लगाएर ढुङ्गा फुटाउन थालिएको हो । ढुङ्गा ठुलो भएको कारण फुटाउन समस्या भइरहेको उनले बताए ।

ढुङ्गा फुटाउन आइतबारसम्म नै लाग्ने उनले जानकारी दिए । अहिले ब्रेकरले ढुङ्गा फुटाउने र जेसिभीले फुटेका टुक्राहरु पन्छाउने काम भइरहेको छ । ‘एक्साभेटरमा ब्रेकर लगाएर ढुङ्गा फुटाउदै छौं, जेसिभीले फुटेको टुक्रा फाल्ने काम हुँदैछ, उनले भने, ढुङ्गा अजिबको रहेछ, भोलिसम्म सकिन्छ कि ।’

ढुङ्गा ठुलो भएकोले सडकबाट तल फाल्न पनि नसक्ने भएको फुटाउनै पर्ने उनले बताए । ‘ढुङ्गा धेरै ठुलो छ । मेसिनले तल फाल्न पनि सकिदैन, उनले भने, अहिलेलाई फुटाउनु बाहेकको बिकल्प नै छैन ।’

पहिरोले अवरुद्ध सडक एकतर्फी खुलेसँगै सवारी साधनको चाँप बढेकोले पनि फुटाउन समय लाग्ने उनले बताए । बिहीबार खसेको ढुङ्गा करिब ३४ घनमिटर र ८२ टनको रहेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले बताए । ढुङ्गा खसेपछि केही समय सडक अवरुद्ध भएको थियो ।

अविरल वर्षापछि बिभिन्न ठाउँमा पहिरो खस्दा अवरुद्ध नारायणगढ मुग्लिन सडक अहिले एकतर्फी रुपमा खुलेको छ ।चारकिलो,पाँचकिलो,सेतिदोवान,घोप्टेभिर र कुरिनटारमा खसेको पहिरोले हटाएर बिहान ९:१० बजेपछि सडक एकतर्फी रुपमा खुलेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु