भरतपुर – अनिकालमा परेका राप्ती–१३ का चेपाङ परिवारलाई खाद्यान्न सहयोग जुटेको छ । नेपाल हेल्पले ३ सय १८ घरधुरीलाई चामल, दाल, तेल, सोयाविन, नुन सहयोग गरेको हो । संस्थाका अध्यक्ष श्यामकृष्ण भेटवालले निभेको चुल्हो बाल्न पाएकोमा खुशी लागेको बताए ।
“कम्तिमा एक महिनालाई मिठोमसिनो खाद्यान्न उपलब्ध गराएका छौँ”, उनले भने, “अनिकालमा परेका वस्तीमा सक्दो सहयोग गरौँ ।” पोल्किम, स्यामराङ, सान्थली, सार्लिङ, दाङतेस लगायतका परिवार लाभान्वित बनेका छन् । संस्थाका कार्यक्रम संयोजक कृष्ण ढकालले आगामी दिनमा चेपाङ वस्तीमा दीर्घकालिन महत्वका योजनाहरु दाताको सहयोगमा चलाइने बताए ।


चेपाङ अभियान्ता केपीकिरण शर्माले फागुन देखि साउनसम्म वर्षेनी अनिकालमा समस्यामा चेपाङ समुदाय पर्ने गरेको बताए । “यसपाली लकडाउनले गर्दा काममा समेत जान पाएनन्”, उनले भने, “कन्दमुल पनि सकिन लागे, मिठोमसिनो खानाका लागि दाताकै भरपर्नुपर्ने बाध्यता छ ।” यस्तै, राप्ती–१२ वाक्राङका ७४ चेपाङ घुरधुरीलाई लाफा रुङग फाउण्डेसनले खाद्यान्न सहयोग गरेको छ ।