चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबारदेखि सेवा प्रवाह सुचारु गर्ने भएको छ । प्रशासन कार्यालयमा आज सम्पन्न बैठकले शुक्रबारदेखि बार अनुसार सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
जिल्लाभरका स्थानीया तहका लागि फरक फरक बार सेवा दिइने सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार आइतबर भरतपुर महानगपालिका भित्रका सेवाग्राहीले मात्रै प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् ।


सोमबार खैरहनी र कालिका नगरपालिका, मंगलबार भरतपुर र कालिका तथा बुधवार रत्ननगर र राप्ती नगरपालिकाका सेवाग्राहीले सेवा लिन सक्नेछन् । यस्तै बिहीबार रत्ननगर, राप्ती र खैरहनी तथा शुक्रबार भरतपुरका सेवाग्राहीलाई मात्रै सेवा प्रवाह गरिने उनले बताए ।
माडी र जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाका लागि भने सबै दिन सेवा प्रवाह गरिने सहायक प्रजिअ भट्टाराईले बताए । माडीका सेवाग्राहीले नागरिकतालगायतका सेवा ईलाका प्रशासन माडीबाटै लिन सक्ने भए पनि पास्पोर्ट लगायतका कामका लागि भने जिल्ला प्रशासनबाट सबै दिन सेवा लिन सक्ने उनले जानकारी दिए ।
आफ्नो स्थानीय तहका लागि तोकिएको बार अनुसार मात्रै प्रशासन कार्यालयमा सेवा लिनका लागि उपस्थित हुन उनले आग्रह गरे । नयाँ भेरियन्टको कोभिड १९ का कारण प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह बन्द भएको थियो ।