काठमाडौं – मनसुनी वायुको प्रभावले बिहानैदेखी देशका बिभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको दक्षिण भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ।
त्यसैको प्रभावले आज देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुने छ।


आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा गेग्रानसहितको पहिरो र बाढीको सतह बढ्दा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
त्यसैगरी शनिबार सामान्यदेखि पूर्ण बदली रहनेछ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
आइतबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।