चितवन चेम्बरले भन्यो: तुरुन्तै कर तिर्न सक्दैनौं, दबाब नदिईयोस्

एटुजेड समाचार

चितवन – चितवन चेम्बर अफ कमर्सले सरकारले तोकेको समय सीमा भित्र कर बुझाउन नसक्ने बताएको छ । आज एक विज्ञप्ति जारी गरेर चितवन चेम्बरले तुरुन्तै सर तिर्न नसक्ने भन्दै सरकार ध्यानाकर्षण गराएको हो ।

कोरोना भाइरस र जारी निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प रहेकोले सरकारले तोकेको असार २५ गतेसम्मको समय सीमामा कर तिर्न नसक्ने चितवन चेम्बरले जनाएको छ । अहिलेको कठिन परिस्थितीमा तुरुन्तै कर तिर्न नसक्ने भएकोले असार २५ गतेसम्मको समय सीमा बारे पुनर्विचार गर्न पनि विज्ञप्ति मार्फत सरकारसँग आग्रह गरिएको छ ।

चेम्बरले चितवनसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले सबै व्यवसायीलाई एउटै दर्जामा राखेर कर तिर्न दबाब नदिन सरकारको ध्यानाकर्षण गराएको छ । निषेधाज्ञा खुलेको कम्तीमा ३ महिना समय सीमा दिएर उद्योगी व्यवसायीहरुलाई सास फेर्ने बातावरण बनाइदिन पनि सरकारसँग चेम्बरको आग्रह छ ।

‘चितवनसहितका बिभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको यस परिस्थितीमा सम्पूर्ण व्यवसायीहरुलाई एउटै दर्जामा राखि कर तिर्न दबाब नदिन सरकारको ध्यानाकर्षण गराउँदछौं । निषेधाज्ञा खुलेको कम्तीमा ३ महिना समय सीमा दिएर उद्योगी व्यवसायीलाई सास फेर्ने वातावरण बनाइदिन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दिर्घमान श्रेष्ठले निषेधाज्ञाका कारण उद्योग व्यवसायमा ठुलो धक्का पुगेको अवस्थामा शिथिल अर्थतन्त्रलाई जीवन्त तुल्याउन सरकारले प्रोत्साहन गर्नुपर्नेमा कर संकलनमै ध्यान दिँदा उद्योगी व्यवसायीहरु चिन्तित भएको बताए । निषेधाज्ञाका कारण आर्थिक कारोबार ठप्प रहेको अवस्थामा कर तिर्ने समय सीमा तोकिनु उपयुक्त नभएको श्रेष्ठको भनाइ छ ।

यस्तै उनले सम्पूर्ण उद्योगी व्यवसायी र अग्रपंतीमा कार्यरत पेशाकर्मीहरुलाई खोपको व्यवस्थापन नभएसम्म अर्थतन्त्र सहज रुपमा चलायमान हुन नसक्ने भएकोले कर तिर्न समय सीमा बारे पुनर्विचार गर्न आग्रह गरेका छन् । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।

विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु