भरतपुरमा जिल्लाकै पहिलो आपतकालिन आवास, विपदमा उपयोगी हुने विश्वास

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिकामा जिल्लाकै पहिलो आपतकालिन आवास निर्माण भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले आवास व्यवस्था कार्यक्रम अन्तर्गत भरतपुर २८ साझापुरमा उक्त आपतकालिन आवास निर्माण भएको हो । आवासका लागि साझापुर माध्यमिक विद्यालयले ५ कट्ठा जग्गा उपलब्ध गराएको थियो ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले नव निर्मित उक्त आवास आज (बिहीबार) एक कार्यक्रममा बीच भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आयोजना प्रकाश अर्यालले महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीलाई हस्तान्तरण गरेका हुन् ।

आवास हस्तान्तरणसँगै आज नै मेयर दाहालले उद्घाटन समेत गरेकी छिन् । आवास निर्माणले विपदको समयमा नागरिकले ठुलो राहत पाउने भन्दै दाहालले खुशी व्यक्त गरिन् । बाढी, भूकम्प जस्ता प्राकृतिक विपदको समयमा नागरिकको सुरक्षाका लागि आवास उपयोगी हुने उनको भनाइ छ ।

प्राकृतिक विपत्ति जतिबेला पनि आउन सक्ने भएकोले त्यसको लागि आश्रयस्थल निर्माण गरिएको उनले बताईन् । जनता माझ बोलेको कुरा पुरा भएको भन्दै उनले खुशी समेत व्यक्त गरिन् । महानगरकी उपप्रमुख शाहले आवास निर्माणले विपदको समयमा नागरिकको सुरक्षाका लागि ठुलो राहत मिल्ने बताईन् ।

विपद व्यवस्थापनका लागि सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरपालिकासँगको समन्वयमा एक करोड ७२ लाखमा उक्त आवास निर्माण गरेको हो । दुई तले उक्त आवास भुकम्प प्रतिरोधि तथा अपाङ्गमैत्री रहेको आयोजना प्रमुख प्रकाश अर्यालले बताए ।

यस्तै बाढीबाट क्षेती हुन नदिन जमिनबाट २ मिटर उचाईमा भवन निर्माण गरिएको अर्यालले जानकारी दिए । यो जिल्लाकै पहिलो आपतकालिन आवास भएको उनको भनाइ छ । ‘सामुदायीक भवनहरु त धेरै बनेका छन् तर आवास व्यवस्था कार्यक्रम अन्तर्गत बनेको यो जिल्लाकै पहिलो आपतकालिन आवास हो’, उनले भने ।

दुई तले भवनको भुइतलामा ठुलो हल रहेको छ । विपदको समयमा आवश्यकता अनुसार खण्ड खण्डमा बिभाजन गरेर प्रयोग गर्न सकिनेछ । यस्तै भवनको माथिल्लो तलामा भण्डार कक्ष रहेको छ जहाँ आवश्यक खाद्यान्न भण्डारण गर्न सकिनेछ । २०७६ श्रावणबाट निर्माण सुरु भएको आवास १८ महिनामा नै सम्पन्न भएको हो ।

आवास व्यवस्थापन स्थानीय सरकारले गर्नेछ । नारायणी र राप्ती नदीका कारण चितवन वर्षेनी बाढीको उच्च जोखिममा रहने गरेको छ । जिल्लामा वर्षेनी बाढी बस्ती पस्दा स्थानीयले सास्ती व्यहोर्ने गरेका छन् । यस्ता विपदमा आवास उपयोगी हुने विश्वास छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु