काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले प्रहरीले बताएको संख्याभन्दा धेरै हताहती भएको बताउने गरेका छन् ।प्रहरीका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ । ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् ।



पहिरोले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठुलो क्षति पुगेको छ । दुईवटा पक्की पुल र ट्राउट माछा फार्म पनि बाढीले बगाएको छ । प्रहरीका अनुसार अहिले पनि लेदो र ठूला ढुंगासहितको पहिरो झर्ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको डिएसपी सापकोटाले जानकारी दिए ।