खुकुलो पार्दै नवलपुरमा असार ७ गतेसम्म निषेधाज्ञा

एटुजेड समाचार

नवलपुर – नवलपुरमा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज (सोमबार) राति १२ बजेसम्म जारी भएको निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा थप गरिए पनि केही खुकुलो पारिएको छ । जिल्लाका सरकारी तथा सार्वजनिक संस्थानहरु कार्यालय प्रमुखको उपस्थितीमा सञ्चालन गर्न पाइने भएको छ । यसका लागि कार्यालय परिसर सरसफाइ, सेवाग्राही बस्ने मापदण्ड अनुसार मार्किङ, साबुन पानीले हात हुने व्यवस्था, स्यानिटाइजर र थर्मल गनको व्यवस्था गर्न प्रशासनले आग्रह गरेको छ ।

बैंक, वित्तिय संस्था तथा राजस्वसँग सम्बन्धित संस्थाहरु दैनिक रुपमा निश्चित समयमा खोल्न पाइने भएको छ । बैंक तथा वित्तिय संस्थाले आधा कर्मचारीबाट बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा दिन पाइने व्यवस्था गरिएको छ । बिदेश जाने यात्रुहरुका लागि भिषाको आधारमा बिमानस्थलसम्म जाने सवारी साधन प्रयोग गर्न पाइने भएको छ ।

प्रशासनले अत्यावश्यक बस्तु तथा सेवा प्रवाह गर्ने पसल तथा संस्थाहरु सञ्चालन गर्न पाइने जनाएको छ । यस्तै किराना पसल, स्टेसनरी, माछा, मासु, बिउबिजन, रासायनिक मल जस्ता उपभोग्य बस्तु बिक्री वितरण गर्ने पसलहरु बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइनेछ । तर हाट र मण्डीबाट फलफुल तथा हरियो तरकारी बिक्री गर्न भने नपाईने प्रशासनले जनाएको छ ।

यस्तै भन्सार पास भएका सवारी साधन राति ९ बजेपछि मात्रै गन्तव्य तर्फ आवातजावत गर्न पाइने व्यवस्था गरिएको छ भने निर्माण सामाग्री बोकेका सवारी साधन बेलुका ५ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू