पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह

एटुजेड समाचार

काठमाडौं – प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महामारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम् जिम्मेवारी भएको बताए । पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उनले कोभिडले समस्यामा परेका पत्रकारको निःशुल्क उपचार हुनुपर्ने, स्वास्थ्य सामग्रीमा पहुँच पुग्नुपर्नेमा जोड दिए ।

मिडिया विधेयकको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष बस्नेतले प्रेसमैत्री हुनुपर्नेमा धारणा राखे । उनले लोककल्याणकारी विज्ञापनमार्फत मिडियाले पाउने सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने बताउँदै आचारसंहिताको पालना र कर्यान्वयनबाट स्वच्छ पत्रकारिताको विकास हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष तथा काउन्सिलका सदस्य विपुल पोख्रेलले कोरोनाका कारण पत्रपत्रिका बन्द भएको, लोक कल्याणकारी विज्ञापनमा समस्या भएको भन्दै तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु