काठमाडाै – यो वर्षको मनसुन सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय भएको जनाएको हो ।
यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविद्ले बताएका छन्। विभागले यो वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको छ। जसकारण यो वर्ष मनसुनजन्य विपद बाढी–पहिरोबाट झण्डै १८ लाख बढी मानिस प्रभावित हुन सक्नेछन् ।


गएको वर्ष औसत बराबरजस्तो पानी पर्दा मानवीय तथा भौतिक क्षति ठूलो भएको थियो। तर, यो वर्ष औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान रहेकाले जोखिम पनि बढ्ने आँकलन गरिएको विभागले जनाएको छ । विपद व्यवस्थापन प्राधिकरणले यो तथ्यांक विश्लेषण गर्दा यो वर्ष मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको हो। प्राधिकरणका अनुसार बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार मानिस प्रभावित हुन सक्नेछन्।
यस्तै, मौसम विभागका प्रवक्ता सुमनकुमार रेग्मीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मनसुनको आगमनसँगै यस वर्ष बाढी र पहिरोको जोखिम धेरै हुने सम्भावना रहेको उल्लेख गरेका छन्।
ठूला तथा मझौला नदीहरूमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदी तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रमा डुबानसमेत हुन सक्ने सम्भावना भएकाले मनसुनको अवधिभर सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ।
हावापानी प्रारूपको आधारमा यस वर्षको मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागको अनुमान छ। यस्तै, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश २ का पश्चिमी भूभागमा सरदर वर्षा हुने र प्रदेश १ को तराई र प्रदेश ३ का पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।