भरतपुरमा मगर गोहीको आक्रमणबाट एक पुरुषको मृत्यु
चितवन – भरतपुरमा मगर गोहीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । आज (सोमबार) भरतपुर महानगरपालिका २४ ध्रुबघाट क्षेत्रमा मगर गोहीको आक्रमणबाट अन्दाजी ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको हो ।
बोटे गैरकानुनी रुपमा रातको समयमा निकुञ्जमा माछा मार्न जाँदा गोहिले आक्रमण गरेको अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । निन्कुञ्जमा र मध्यवर्ती क्षेत्रमा २०७७ – ७८ को हालसम्म १२ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
बन्दबन्दीको समयमा अनावश्यक रुपमा जंगल तथा नदि क्षेत्र प्रवेश नगरिदिन निकुञ्जले जनसमुदायमा अपिल समेत गरेको छ । साथै निकुन्जमा वैशाखदेखि असार मसान्तसम्म माछाको प्रजनन तथा भुरा हुर्काउने समय भएकोले माछा मार्ने लाइसेन्स प्राप्त व्यक्तिलाई समेत यो अवधिमा माछा मार्न निषेध गरिएको अधिकारीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया