गीतानगरको श्री देब आदर्श सहकारीले कोरोना संक्रमित सदस्यलाई राहत दिने

भरतपुर – भरतपुर महानगरपलिका वडा नम्बर ६ गीतानगरमा रहेको श्री देब आदर्श बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि कोरोना राहत कार्यक्रमको घोषणा गरेको छ ।
नेपालमा पछिल्लो समय फैलिएको दोस्रो चरणको कोरोना संक्रमणको विषम परिस्थितीलाई मध्यनजर गर्दै जेष्ठ ७ गतेको नियमित बैठकले आफ्ना सबै सदस्यहरुलाई पिसिआर परिक्षण मार्फत कोभिड पोजिटिभ देखिएको खण्डमा राहत स्वरुप दुई हजार र बचत सदस्यहरुलाई एक हजार रुपैया उपलव्ध गराउने सहकारीका अध्यक्ष ध्रुवराज मिश्रले जानकारी दिए ।
यसैगरि सहकारीले संस्थामा कर्जाको कारोवार गर्दा सबै ऋणी सदस्यहरुको कर्जा वीमा गरी सदस्यहरुलाई आर्थिक जोखिम मुक्त समेत गराएको अध्यक्ष मिश्रले बताए । विगतका दिनहरुमा सदस्यहरुका लागि सहकारी अबलोकन, स्वास्थ्य शिविर र तालिमहरुमा जोड दिदै आएको उक्त सहरकारीले यस वर्षवाट सदस्यहरुको आर्थिक जोखिमलाई न्यूनीकरण हुने खालका कार्यहरुमा जोड दिएको संस्थाका सचिव महेन्द्रप्रसाद कोईरालाले जानकारी दिए ।
गत वर्षको कोरोना महामारीमा सदस्यहरुको कोरोना वीमा गराउदा ५० प्रतिशत अनुदान दिएको उक्त संस्थाले आफ्ना ७ सय जना शेयर सदस्यहरुलाई ५० हजार रुपैयाको समुहिक दुर्घटना जीवन वीमा युनियन लाईफ इन्स्योरेन्स कम्पनीमा बैशाखमै गराई सकेको छ ।
२०६८ सालमा स्थापना भई गीतानगर, शिबनगर, फुलवारी, मंगलपुर, पटहानी कार्यक्षेत्र रहेको उक्त सहकारीमा हाल झण्डै १ हजार जना शेयर सदस्यहरु रहेका छन् । संस्थावाट ११ किसिमका बचतका प्रकारहरु र ९ किसिमका शिर्षकहरुमा कर्जा दिने गरिएको छ । कर्जा र बचतमा २ देखि ६ प्रतिशतसम्म अन्तर रहेको संस्थाका कोषाध्यक्ष अनुप कोइरालाले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया