दार्चुला – दिनानुदिन भइरहेको वर्षाका कारण धौलीगंगा नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढ्दै गएको कारण धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम भरिने खतरा बढेको छ ।नदीमा पानीको बहाव बढेपछि परियोजनाको बाँधको ढोका जुनसुकै बेला खोलिने भएको छ ।
भारतीय विद्युत् निर्माता एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसनले ड्याम जुनसुकै बेला पनि खोल्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गरेको थियो ।सोही पत्रलाई अधार मान्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सूचना जारी नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतले निर्माण गरेको परियोजनास्थलभन्दा तल नेपालको व्यास गाउँपालिकाका धौलाकोट, दुहुँ, महाकाली, मालिकार्जुन र लेकम गाउँपालिकाका बस्तीहरु पर्छन् । सो क्षेत्रका नागरिकलाई महाकाली नदी किनारमा नजान प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचनामार्फत आग्रह गरेका छन् ।वि.सं. ०७० सालको बाढीका बेला परियोजनाको ड्यामबाट आएको पानीले दार्चुलाको अधिकांश भू–भाग बगाएको थियो । पछिल्लो समय नेपालले विरोध जनाएपछि भारतले धौलीगंगामा पानी बढ्दा जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गर्ने गरेको छ । रासस