सूर्यप्रसाद अधिकारी, , चितवन । दियालो बंगलाबाट वागेश्वरी हुँदै देवघाट आवतजावत गर्नेले एउटा दृश्य कहिल्यै विर्सदैन, त्यो हो सयौंको संख्यामा सडकमै देखिने बाँदरहरुको झुण्ड । जंगलको बीचबाट जाने यो सडक भै यात्रा गर्नेहरुको लागि र विशेषगरी बालबालिकाको लागि मनोरञ्जनको स्रोत समेत बन्दै आएका छन् यी बाँदरहरु । तर यी बाँदरको व्यथा जो कोहीलाई थाहा नहुन सक्छ । तर केही दिन देखि यी बाँदर न फूर्तिला देखिन्छन् न खुशी ।
कोभिडका कारण जारी निशेधाज्ञाका कारण ज्यालामजदुर, व्यापारी लगायत मानिसहरुमा परेको प्रभावबारे सबैले थाहा पाएका छन् तर आफ्ना कुरा बताउन नसक्ने यी बाँदर जस्ता प्राणीले भोगेको समस्याबारे थोरै मात्र जानकार होलान् । जंगलमा खासै बाँदरको लागि फलफूल पाईदैन । यस सडकबाट आवतजावत गर्नेहरुले दिएको खाना नै यिनीहरु बाँच्ने आधार हो । निशेधाज्ञाको कारण मानिसहरुको आवतजावत ठप्प हुँदा बाँदरहरुको पनि खानाको स्रोत रोकिए पछि भोकभोकै परेका यी वाँदरहरुको बारेमा गत शनिबार एटुजेड समाचारमा ‘मान्छे बिरामी बांँदर भोकै’शिर्षकको समाचार प्रकाशित गरेपछि भने परोपकारी मनहरुको ध्यान यिनीहरु तिर तानिएको हो ।
काठमाडौं कमलपोखरी निवासी स्यंसेवी शौरभ रिमालको पहलमा चितवन स्थित देवघाटका यी बाँदरले वुधवार खाने कुरा पाएका हुन् । लामोसमयदेखि गाई, कुकुर बाँदरलाई खानेकुरा खुवाउँदै आएका रिमालले देवघाटका वाँदरहरुको विचल्ली भएको समाचार पढे पछि आफूले खानेकुरा वितरण गर्ने पहल गरेको बताए । बुधबार चितवनकी महिला उद्यमी अनुषा पाठक मार्फत देवघाटका ती बाँदरहरुलाई केरा खुवाईएको हो । ‘मैले झण्डै ३ बर्षदेखि जनावरलाई खानेकुरा बाँड्दै आएको छु शौरभ ले भने, मान्छेले त मागेर पनि खान सक्छन् जनावरको आखिर हामी बाहेक को छ र?’ आफूले जनावर बाहेक वेवारिसे बालबालिका, शारिरीक अशक्तता र पिछडिएका नागरिक र ज्याला मजदुरी गर्नेलाई पनि सहयोग गर्दै आएको बताए ।
उनले हाल कोइराला फाउण्डेसन ग्लोबल संस्थामार्फत त्यस्ता ठाउँमा खानेकुरा र खाद्य सामाग्री हस्तान्तरण गर्दै समाजसेवा गरिरहेका छन् । ‘मैले नजिकका साथी भाई अन्य मनकारी ,परोपकारीहरुको साथले सहयोग गर्दै आएको हुँ । मेरो अभियान जारी रहन्छ उनले भने ।बुधबार देवघाट वारीका बाँदरलाई केरा बाँडिए पनि आगामी दिनमा अन्य खानेकुरा बाँढेर निरन्तरता दिने रिमालको भनाई छ ।
देवघाटका संकटमा परेका वाँदरलाई केरा बाँडेपछि आफुलाई आत्मसन्तुष्टी मिलेको पाठकले बताईन । ‘बाँदरलाई यसरी केरा दिएको मेरो पहिलो अनुभव हो, उनले भनिन , ‘बाँदर यति भोकाएका रहेछन कि एउटै बाँदरले ७ वटा सम्म केरा खाएको देखें ।’ उनले भनिन् । निशेधाज्ञाभर वाँदरको लागि निरन्तर खानेकुरा वितरण गर्दै जाने पाठकको बताइन् । उनले बागेश्वरी र देवघाटका सय भन्दा बढी वाँदरलाई केरा खुवाइएको वताइन् ।
सामाजिक अभियान्ता रिमालले विभिन्न दाता एवं सामाजिक संस्थाको सहकार्य र समन्वयमा त्यस्ता मानव तथा जनावरको लागि सक्दो सहयोग गर्दै जाने बताए । ‘हामी छौं र पो जनावर छन् , जनावर छन र पौ हामी छौं, उनले भने, ईको सिष्टम सन्तुलन ल्याउन पनि जनावर बाँच्नु पर्छ । यस धर्तीमा जनावरको पनि बाँच्न पाउने अधिकार छ, त्यो हामीले भूल्नु हुँदैन ।’ उनले भने ।