बैशाख महिनामा सवारी दुर्घटना बढ्यो मृत्यु र घाईतेको संख्या भने घट्यो

एटुजेड समाचार

सूर्यप्रसाद अधिकारी,  चितवन । चितवनमा आर्थिक बर्ष ०७७, ०७८ को चैत्र महिनाको तुलनामा बैशाख महिनामा सवारी दुर्घटनामा बृद्धि भएको छ । तर मृत्यु र घाईतेको संख्या भने घटेको छ । जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार चैत्र महिनामा ३९वटा सवारीसाधन दुर्घटनामा परेका थिए तर बैशाख महिनामा यो संख्या बढेर ४१ वटा सवारीसाधन दुर्घटनामा परेका छन । चैत्र महिनामा भएका दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो भने ६३ जना घाईते भएका थिए । यसैगरी बैशाख महिनामा ४५ जना घाईते भएका थिए भने १२ जनाको मृत्यु भएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले निशेधाज्ञा भएपनि बिशेषगरी बेलुकाको समयमा दुईपांँग्रे र निर्माणसामाग्री ढुवानीका सवारीसाधनको लापरवाहीका कारण चैत्र महिनाको तुलनामा बैशाख महिनामा दुर्घटना बढेको बताए । ‘बेलुकाको समय लापरवाही तरीकाले सवारी साधन चलाउने पनि बढी भए । निर्माणसामाग्री बोक्ने सवारीसाधनको गति पनि तीब्र छ ।’ उनले भने । निशेधाज्ञाको समयमा अत्यावश्यक ढुवानी गर्ने सवारी साधनको समेत लापरवाही र तीब्र गतिका कारण दुर्घटना बढेको थापाको भनाई छ ।

सबैभन्दा बढी मृत्यु भित्री सडकमा
चितवनमा भएका सवारी दुर्घटनामा सबै भन्दा बढी भित्री सडकमा भएको पाईएको छ । कार्यालयको तथ्यांक अनुसार चैत्र महिनामा भित्री सडकमा सवारी दुर्घटना हुंँदा १३ जनाको मृत्यु भएको थियो भने ३६ जना घाईते भएका थिए । यस्तै बैशाख महिनामा भित्री सडकमा १७ वटा सवारीसाधन दुर्घटना हुंँदा ७ जनाको मृत्यु भएको थियो भने १७ जना घाईते भएका थिए । कार्यालयका अनुसार चैत्र महिनामा पूर्वपश्चिम लोकमार्गमा १० वटा सवारी दुर्घटना हुंँदा ४ जनाको मृत्यु भएको थियो भने १२ जना घाईते भएका थिए । बैशाख महिनामा ८ वटा सवारी दुर्घटना भएकोमा २ जनाको मृत्यु भएको थियो भने ११ जना घाईते भएका थिए । यस्तै चैत्र महिनामा नारायणगढ मुग्लिन सडकमा ३ वटा सवारी दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको थियो भने ६ जना घाईते भएका थिए । चैत्र महिनामा शहरी सडकखण्डमा ४ वटा सवारी दुर्घटना हुंँदा १ जनाको मृत्यु भएको थियो भने ६ जना घाईते भएका थिए । तर पृथ्वी राजमार्गमा चैत्र महिनामा कुनै दुर्घटना भएको छैन तर बैशाख महिनामा यस राजमार्गमा २ वटा दुर्घटना हुंँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।
कार्यालयका प्रमुख थापाले मुख्य सडकमा भन्दा बढी भित्री सडकमा लापरवाही तरीकाले सवारीसाधन चलाउंँदा दुर्घटना र मृत्यु बढेको बताए । ‘भित्री सडकमा लापरवाही बढी भएको देखेका छौं उनले भने, भित्री र ग्रामीण सडकमा ट्राफिक प्रहरीको पहुंँच पनि कम छ । जनशक्ति पनि कम छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू