काँग्रेस नेतृत्वलाई खुल्ला पत्र

एटुजेड समाचार

सभापति, बरिष्ठ नेता एवं सम्पूर्ण केन्द्रीय पदाधिकारी ज्युहरु,

नेपाली काँग्रेस केन्द्रीय कार्यालय

सानेपा, ललितपुर

आदरणीय नेता ज्यु ,म एक काँग्रेसको सुभेच्छुक साथै एक साधारण कार्यकर्ता र माओवादी को हिंस्रक युद्धमा मारिनु भएका गोर्खा काँग्रेसका नेता स्व भैरबराज बिष्टको छोरा पनि हुँ । काँग्रेसमा लागेर आफ्नो अभिभावक नै गुमाएको नाताले काँग्रेसको माया लाग्नु स्वभाविक हो । साथसाथै संगठन कमजोर बनेकोमा चिन्ता पनि लाग्छ ।

आदरणीय नेता ज्यु जुन बेला माओवादीले हिंस्रक युद्ध गर्‍यो त्यो समय काँग्रेस हुनु, काँग्रेसको राजनीति गर्नु ज्यान हत्केलामा राख्नु सरह थियो । माओवादीले काँग्रेस कमजोर बनाउने लक्ष्य लिएर युद्धको नाटक मञ्चन गरेको थियो। एक क्षेत्रको काँग्रेस नेताको हत्या गरेपछि त्यो क्षेत्रमा काँग्रेस कमजोर बनाउने रणनीति बमजिम नै मेरा बुबाको हत्या बहेको थियो। बुबाको हत्या पश्चात उहाँको हत्या त्रुटि बस भएको भनेर माओवादीका वरिष्ठ नेताले नै भने भन्ने सुनियो अनि लाग्यो व्यक्ति हत्या जस्तो अपराधिक कार्य त्रुटि भयो भनेर माफी मिल्छ त ? ए लोकतान्त्रिक दल र लोकतान्त्रिक दलका नेता तपाईहरुसँग मेरो यो प्रश्न रहेको छ ? माओवादीको त्यो जघन्य अपराधलाई युद्ध भन्ने हो भने युद्धमा बिपरित राजनीतिक आस्था राखेको आधारमा घरमा सुतिरहेका व्यक्तिको हत्या गर्न पाईन्छ ? विश्वको कुन राष्ट्रमा निहत्था व्यक्तिको हत्यालाई युद्ध भनिदो रहेछ पुष्टि गर्न सकिन्छ त ?

पार्टीबाट अपेक्षा

माओवादीबाट हजारौं काँग्रेसका, अन्य दलका साथसाथै हजारौं सर्वसाधारण नागरिक पनि मारिए । होला कोहि माओवादी पीडित बनेर कमाउने माध्यम नि बनाए,माओवादी पीडित बनेर बिदेश तिर पनि हानिए ,जागिर खानेदेखि एनजीओ आइएनजिओ चलाएर पीडितको नाममा खाने माध्यम पनि बनाए होलान्, तर सबै माओवादि पीडित बनेर आफ्ना अभिभावकको हत्यालाई, आफ्नो पीडा, आशुलाई नगदमा साट्छ्न भन्ने पनि छैन त्यही नसाट्ने व्यक्तिहरुको प्रतिनिधि पात्र म पनि रहेको हुँदा मलाई रकमी सहयोग, रोजगार र अन्य सहयोग भन्दा पनि हाम्रा अभिभावकको हत्या गर्ने अपराधीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम कानुन अनुसार कारबाहीको लागि पहल गरोस् भन्ने अपेक्षा छ। होइन भने यो सत्य निरुपण तथा मेलमिलाप आयोग बन्नु नबन्नु को औचित्य के हो ?,अन्तर्राष्ट्रिय समुदायलाई हामी पीडितलाई न्याय प्रदान गर्न लागेका छौं भनेर ढाट्न मात्र यो आयोग बनाएर यसको औचित्य के रहन्छ त ?

लोकतान्त्रिक दलले आफ्ना पीडित नेता तथा कार्यक्रतालाई न्याय दिन नलाग्नु कस्तो लोकतान्त्रिक दल र कस्तो लोकतान्त्रिक नेता भनेर बुझ्ने ? त्यसैले म जस्तै हजारौं पीडितको अभिभावकको भुमिका निर्बाह गर्न नेपाली काँग्रेसले पहल गर्नु पर्छ । आफ्ना अभिभावकले असल काम गरेनन्, त्रुटि गरे भने छिमेकी बालाई आफ्ना बुबा भन्न सकिन्न । त्रुटि गरेको भए सच्चाएर अगाडि बढ्न एक असल सन्तानले आफ्ना अभिभावकलाई घचघच्याउन छोड्नु हुन्न, मैले सोही भुमिका निर्बाह गर्दै आएको छु ।

सुझाव

काँग्रेसमा धेरै व्यक्तिहरु माओवादीबाट पीडित छ्न् । उक्त पीडा आम पीडि जनको मात्र पीडा होइन समग्र काँग्रेसको पीडा हुन पर्थ्यो । तर उक्त पीडा समग्र काँग्रेसको पीडा हुन सकेन । बिगतमा स्थानीय निकायको निर्बाचनमा जस्तै गल्ती गर्ने हो, आफ्नो उम्मेद्बारको उम्मेद्बारि रद्ध गरि माओवादीको मेयरलाई मत हाल्न उर्दि गर्ने जस्तै कार्य गर्ने हो भने काँग्रेसको संगठन बन्ला भन्ने मलाई लाग्दैन । सिरानीमा कृयाशिल पत्र राखेर आफ्नै उम्मेद्बारलाई मत नदिनेलाई कारबाही गर्नु पर्दछ । मतपत्र च्यात्दा विज्ञप्ति निकाल्नेदेखि झन्डा गास्नेसम्मका घृणित कामले काँग्रेस हुनुमा शिर झुकेको थियो र माओबादीलाई मत दिने काँग्रेस हुनु भन्दा काँग्रेस छोड्न सजिलो भन्ने गरिन्थ्यो र त्यस्तो काँग्रेस बनिएन पनि । अबका दिनमा बिगतका गल्ती कमजोरी सच्चाएर काँग्रेस अगाडि बढ्न जरुरी छ ।सबै अट्ने काँग्रेस सबैलाई जोड्ने काँग्रेस त भनिन्छ तर काँग्रेस मै लागेर आफ्ना अभिभावक गुमाएको म जस्तो एक कार्यक्रतालाई त जोड्न नसक्ने र काँग्रेसमा अटाउन नसक्ने हो भने कसलाई जोड्यो होला भनेर बिस्बास गर्ने ?

क्षणिक स्वार्थका लागि काँग्रेसमा लागेकालाई जोडेर, कस्तो काँग्रेस बन्ला ? क्षणिक स्वार्थमा लागेर बिचार नमिल्नेहरुसँग तालमेल नगरिदिनुस् । किन कि स्वार्थको पिरती टिक्दैन । बिचार मिल्ने निष्ठा मिल्नेसँग तालमेल गर्नुस, संगठन निर्माण गर्नुहोस् । संगठन बलियो भए कसैको बैसाखी टेक्न जरुरी पर्दैन । सत्ता स्वार्थका लागि बिचार नमिल्ने, निष्ठा नमिल्ने कसैलाई नबोकिदिनुस्, तपाईहरुको गलत कदमले एक ईमान्दार कार्यकर्ताको शिर झुक्नु लज्जास्पद भएन र ?

आदरणीय नेता ज्यु, विमानस्थलमा तपाईलाई फुल माला लिएर स्वागत गर्ने, चुल्हो चौका घुमेर टिके पद थाप्ने मात्र तपाईका कार्यक्रता होइनन् । दुरदराजमा सक्कली कार्यकर्ता छ्न् । उहाँहरुको भावनामा कुठाराघात नगरिदिनुस, तपाईहरुको गल्तीले ती साधारण कार्यकर्ताको शिर झुक्दा ती दुरदराजका कार्यकर्तालाई कति हिनताबोध भयो होला ? तपाईहरु गुटको होइन रुटको काँग्रेस बनाउनुस्,नातापाता, आसेपासे मात्रै बनाउने हो भने व्यापार गर्नुस्, होइन भने काँग्रेस तपाईको घर, कार्यकर्ता तपाईका सन्तान सम्झनुस् । प्रतिशतको आधारमा भाग खोज्दै गर्दा पार्टीको संगठन बिग्रदा पनि सोही प्रतिशतको आधारमा जिम्मा लिने नैतिक साहस राख्नुस् । होइन भने सबै गुटको काँग्रेस छैनन्, हामी गुट बलियो पाटी कमजोर भएको दलको कार्यकर्ता होइनौं, बिना गुटको शशक्त पार्टीको सचेत कार्यकर्ता रहन चाहन्छौं ।

बिजयराज बिष्ट
भरतपुर, चितबन

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू