काठमाडौं – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका पार्टीका नेता रामबहादुर थापा बादललाई मत दिन आग्रह गरेका छन्। बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार थापालाई मत दिन उनले आग्रह गरेका हुन्।
आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै ओलीले बादलको जितले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्ने भन्दै मत दिन आग्रह गरेका छन् । ‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो उम्मेदवार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ ओलीले आज अपिल जारी गर्दै भनेका छन्, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु।’



२०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो। यहाँ संघीयताविज्ञ खिमलाल देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको समर्थन र सहयोगमा उम्मेदवार छन्।