नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

एटुजेड समाचार

नवलपरासी – नवलपरासी सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । आज (बुधबार) बिहान गोली लागेका २३ वर्षीय अविनाश राजभरको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

स्थानीय शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा राजभरको बाटोमै मृत्यु जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिए ।

आज बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ५०/६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको दावी छ ।

कोभिड–१९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए । भीडले आक्रमण गर्दा सई शंकर बुढाथोकीको टाउकोमा गम्भीर चोट उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू