काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति जुटेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको छ ।
अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त वक्तव्य जारी गर्दै तत्काल सरकारमा नजाने प्रष्ट पारेका छन् । यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसदमा विश्वासको मत लिन जाँदा जसपाको साथ नपाउने पक्का भएको छ ।
संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई राष्ट्रपतिले ३० वैशाखमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । ३१ वैशाखमा शपथ लिएका प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।
जसपाका अध्यक्षद्वयले जारी गरेको वक्तव्यमा ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वको सरकार बन्ने अवसर प्राप्त हुनसक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ’ भनिएको छ । जसपाका नेताहरुका अनुसार यो अभ्यास ७६ (३) का प्रधानमन्त्रीले संसदमा विश्वासको मत नपाएपछि हुनेछ ।