विराटनगर – विराटनगरको विराट शिक्षण अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। एक बिरामीका आफन्तले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईका अनुसार सोमबार राति करिब ७ बजे चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि कुटपिट भएको हो ।
बूढीगंगा गाउँपालिका-२ की गोमादेवी श्रेष्ठ अस्पतालमा भर्ना भएकी थिइन्। उनी सुगर प्रेसरकी बिरामी भएको डिएसपी राईले बताए। उनको उपचारमा स्वास्थ्यकर्मीहरूले हेलचक्र्याइँ गरेको भन्दै कुटपिट गरेको राईले बताए।
प्रहरीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा अनिष श्रेष्ठ र निशल श्रेष्ठ छन्। उनीहरू बिरामीका नातीहरू हुन्। चिकित्सकहरू घाइते नभएको प्रहरीले जनाएको छ।