चितवन – भरतपुर अस्पताल कोरोना भाइरसका संक्रमितले भरिएको छ । अस्पतालको एचडीयू र जनरल बेड कोरोना संक्रमितले भरिएका छन् । यस्तै आइसियू पनि संक्रमितले भरिने अवस्थामा पुगेको छ ।
अस्पतालले १६९ बेड कोरोना संक्रमितका लागि छुट्टाएको छ । जसमध्ये १६२ वटा बेड बिरामीले भरिएका छन् । अस्पतालमा अहिले २५ बेडको एचडीयू छ । जसमध्ये २४ बेडमा संक्रमितहरु रहेका छन् । यस्तै अस्पतालको जनरल बेडमा एक सय २३ जना छन् । उता आइसियूमा भने १५ जना जटिल अवस्थाका बिरामीहरुको उपचार भइरहेको छ ।
२५ बेडको आइसियू पनि संक्रमितले भरिने अवस्थामा पुगेको छ । ५ बेड भने कोरोनाको लक्षण भएका तर रिपोर्ट आउन बाँकी भएका बिरामीहरुका लागि छुट्याइएको छ । एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पतालमा आज मात्रै ११ जना नयाँ संक्रमितहरु भर्ना भएका छन् भने ५ जना निको भएर घर फर्किएका छन् ।
अस्पतालका कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलले संक्रमितहरुले बेड भरिएको बताए । अस्पतालका बेड भरिने थालेपछि नयाँ थपिएका संक्रमितलाई विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पठाउने गरिएको छ । ‘हाम्रो अस्पतालका बेडहरु संक्रमितले भरिएका छन्, उनले भने, अहिले क्यान्सर अस्पतालले पनि कोभिड वार्ड स्थापना गरेकोले हामीले संक्रमितहरुलाई त्यता पठाउने गरेका छौं ।’
क्यान्सर अस्पतालले हालै मात्र १४० बेड क्षमताको कोभिड वार्ड स्थापना गरेको छ । डा. पौडेलका अनुसार भरतपुर अस्पतालमा रहेको हेल्प डेस्कले भर्ना हुन आउने संक्रमितलाई परामर्शपछि क्यान्सर अस्पताल पठाउने गरेको छ । अस्पतालमा अहिले कोभिडपछि निमोनिया, लामो समयदेखि उच्च ज्वरो, झाडापखाला जस्ता समस्या भएका संक्रमितहरु आउने गरेका छन् ।
अस्पतालमा एचडियू र आइसियू र अक्सिजन प्लान्टको क्षमता बढाउने बारे छलफल भइरहेको पनि उनले बताए । हालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पातलका लागि १२ करोड ९२ लाख ७० हजार रुपैंया बजेट विनियोजन गरेको छ । अस्पतालमा भेन्टिलेटर,अक्सिजन प्लान्ट,अक्सिजन ट्याङक र एचडियू स्थापनाका लागि मन्त्रालयले उक्त बजेट विनियोजन गरेको हो ।
बजेट विनियोजन भएसँगै अस्पतालले अक्सिजन प्लान्टको क्षमता बढाउने भएको छ । अस्पतालमा हाल रहेको प्लान्टले दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने गर्दछ । तर अस्पतालमा अहिले एक सय ५० देखि २ सय सिलिन्डर अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । थप २४० सिलिण्डर उत्पादन हुने गरी प्लान्ट जडान गर्न लागिएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।