चितवन – चितवनका फार्मेसी तथा औषधि पसलहरुमा सर्जिकल ग्लोब अभाव देखिन थालेको छ । सानो साईजको ग्लोब सहज रुपमा पाइए पनि मध्यम र ठूलो साईजका पाइन छाडेको हो ।
ग्लोब अभाव हुन थालेपछि फार्मेसी तथा औषधि पसलहरुले सेवाग्राहीहरुलाई खुद्रा रुपमा मात्रै बिक्री गरिरहेका छन् । पुरा प्याकेट नै किन्छु भन्नेहरुका लागि नारायणगढ र भरतपुर क्षेत्रका फार्मेसी तथा औषधि पसलहरुमा ग्लोब उपलव्ध छैन ।
सामान्य अवस्थामा प्याकेटको पाँच सय रुपैयाँमा पाईने ग्लोब फार्मेसीहरुले अहिले तेह्र सय ५० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । माग गरेपनि सो अनुरुप सप्लायर्सले आपूर्ती गर्न नसकेको भरतपुर र नारायणगढ क्षेत्रका फार्मेसी तथा औषधि पसलेहरुले एटुजेड समाचारलाई बताए ।
एक व्यवसायीले भने – ‘माग गरेको हप्तौं भईसक्यो । अहिलेसम्म सामान आईपुगेगेको छैन ।’ कोरोना संक्रमितको मृत्युदर बढ्दै गएको र संक्रमितको संख्या पनि बढ्दै गएका कारण सर्वसाधारण जनताले अत्यधिक खरीद गर्दा ग्लोबको अभाव भएको हुन सक्ने व्यवसायीहरुको भनाई छ ।
जिल्लाका फार्मेसी तथा औषधि पसलहरुमा स्यानिटाईजर र मास्कको भने अभाव देखिएको छैन । व्यवसायीहरुका अनुसार यि सामग्री पनि कहिलेसम्म सहज रुपमा बिक्रि गर्न सकिन्छ भन्ने कुनै टुङ्गो छैन ।