नवलपरासीमा कोरोना सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

एटुजेड समाचार

नवलपरासी  – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ ।नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण शुरु गरेको औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

आइतबार ३४ सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको पौडेलले बताए । आयुर्वेदिक औषधि वितरणको कार्यक्रम नगरपालिकाका अन्य वडामा समेत सञ्चालन हुने पौडेलले बताए ।आयुर्वेद औषधालयका प्रमुख पौडेल, आधारभूत स्वास्थ्य एकाइ गैँडाकोटका प्रमुख सिनियर अहेव अधिकृत टुकराम सुवेदी र औषधालयका कर्मचारी गोपालप्रसाद सापकोटासहितको टोलीले होम आइसोलेशनमा रहेकाहरुको हौसला बढाउने आयुर्वेदिक औषधि वितरण गरेको हो ।

टोलीले सङ्क्रमितहरुलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै सम्पर्क गर्न आग्रह गरिएको पौडेलले बताए । सङ्क्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण गर्दा उनीहरुमा रोगलाई जित्ने आत्मबल बढ्ने पौडेलको भनाइ थियो ।यसअघि पनि सङ्क्रमितहरुको घरमै गएर उनीहरुको नियमित स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको उनको भनाइ छ । गैँडाकोट–२ मा ८१ र ४ मा ७२ गरी दुई वटा वडामा मात्रै १५३ कोरोना सङ्क्रमित रहेका छन् । पछिल्लो चौबिस घण्टामा गैँडाकोटका २२ जनाले कोरोना जितेका छन् ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू