काठमाडौं – राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न पाउने भएका छन् । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै निर्वाचन आयोगले कोरोना संक्रमित मतदातालाई मतदान व्यवस्था मिलाएको हो ।
आयोग प्रवक्ता राजकुमार श्रेष्ठले मतदाताले ७२ घण्टाअघि पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्नेसमेत प्रस्ट पारेका छन्। पोजेटिभ रिपोर्ट भएकालाई पनि मतदान गर्न पाउने व्यवस्था गरिएको श्रेष्ठले बताए ।
आयोगका अनुसार कोरोना संक्रमित मतदाताका लागि फरक मतदान केन्द्र व्यवस्था गरिएको छ । केन्द्रमा मतदान गर्न जाने सबैले अनिवार्य फेससिल्ड, पन्जा र मास्क लगाउनुपर्नेछ । यसैगरी, मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिले अनिवार्य पीपीई प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।