भक्तपुर, काठमाडौँ महानगरपालिकाले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर–अस्पताललाई तीन थान भेन्टिलेटर हस्तान्तरण गरेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीसहितको टोली उक्त अस्पताल पुगेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई सामान हस्तान्तरण गरेका हुन्।
कोभिड–१९ का विरामीको ज्यान जोगाउन अस्पतालमा रहेको आइसियुमा जडान गर्नका लागि करिब रु. ७० लाख बराबरको भेन्टिलेटर महानगरले हस्तान्तरण गरेको हो। महानगरपालिकाले काठमाडौँका सबैजसो सरकारी र सामुदायिक अस्पतालको क्षमता र स्तरवृद्धिका लागि भेन्टिलेटरलगायत स्वास्थ्य सामाग्री उपलब्ध गराउने नीतिगत निर्णय गरेको छ।
‘विगतमा नगर–नगर साझेदारीअन्तर्गत सम्पदा र पर्यावरण बचाउन सहयोग गर्दै आएकोमा अहिले कोरोनाको अदृश्य शक्तिसँग जुध्नका लागि स्वास्थ्य क्षेत्रमा पनि सहकार्य गर्नुपर्छ भनेर यो अस्पताललाई भेन्टिलेर हस्तान्तरण गरेको हौँ,’ प्रमुख शाक्यलले भने, ‘नयाँ अस्पताल विस्तार भन्दा पनि सञ्चालनमा रहेका अस्पतालको गुणस्तरीय सेवा विस्तारमा सहयोग पुर्याउन सके बिरामी र चिकित्सकलाई आम्माविश्वास बढ्छ भन्ने हाम्रो मान्यता छ।’
अक्सिजनको अभावले शय्या विस्तार गरेर पनि सेवा विस्तार गर्न नसकको भन्दै मध्यपुरथिमिका नगरप्रमुख श्रेष्ठले अक्सिजन प्लान्ट जडान गरेपछि आइसियु र हाइकेयर युनिटमा अक्सिजन प्रवाह गर्न सहज भएको बताए। त्यसैगरी नगरपालिकाले आज एक आइसोलेसन शय्या राखेको छ। वयोधा मेडिकल टेक्नोलोजीले उक्त अस्पतालका लागि रु. १० लाख पर्ने एक वटा आइसोलेसन शय्या सहयोग गरेको हो।रासस