काभ्रेपलाञ्चोक – पछिल्ला केही दिनदेखि यहाँ दैनिक १५० को संख्यामा संक्रमित थपिन थालेका छन्। कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलन थालेपछि दैनिक डेढ सय हाराहारीको संख्यामा संक्रमण देखिन थालेको जनाइएको छ।
जिल्लामा पछिल्लो २४ घण्टामा १५१, अघिल्लो दिन १५६ तथा बुधबार १४६ मा कोरोना संक्रमण पुष्टि भयो। दैनिक ३० को हाराहारीमा कोरोना संक्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृत्यु हने गरेको तथ्यांकले देखाएको छ।
जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार हाल कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता एक हजार ७२४ सक्रिय संक्रमित छन्।
करिब हप्ताअघिसम्म दैनिक सरदर ७० संक्रमित थपिने गरेकामा कन्ट्याक्ट टे«सिङ प्रक्रियाबाट दोब्बर संख्यामा कोरोना संक्रमित थपिएको जनाइएको छ। ‘समुदायस्तरमा कोरोना संक्रमण फैलिएकाले बढ्दो संख्यामा यसका बिरामी देखिएका हुन्, कन्ट्याक्ट टे«सिङलाई नियमितता दिन सकिएमा कोरोना पत्ता लगाई ज्यान जोगाउन मद्दत पुग्ने थियो,’ केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने।
उनका अनुसार सामान्य रुघाखोकी र ज्वरो भन्दै हेलचेक्र्याइँ गर्ने र स्वास्थ्य स्थिति बिग्रँदै गएपछि अस्पताल आउने गर्दा कोरोना परीक्षणपछि उपचारसमेत सुरु गर्न नपाउँदै अस्पतालमै मृत्यु हुने गरेका घटना देखिएका छन्। पछिल्लो हप्तादेखि समुदायस्तरमा जोखिम बढ्दै गएपछि कोरोना संक्रमितको यही अवस्था रहिरहे होम आइसोलेसनमा मृत्यु हुनेको संख्या पनि बढ्दै जाने आशंका गरिएको छ।
गाउँ–गाउँमा कोरोना संक्रमणबारे अवस्था अनुगमन गर्नुपर्नेमा त्यसो नभएकाले स्थिति भयाभह हुनसक्ने पनि झाले बताए।
उनले भने, ‘स्थानीय तह अझ बढी जागरुक बन्नुपर्ने देखिन्छ, कोरोनाविरुद्धको दोस्रो चरणको खोप कार्यक्रममा अबको दुई हप्ता अधिकांश स्वास्थ्यकर्मी पनि व्यस्त रहन्छन्।’
उनी अब निषेधाज्ञालाई ‘लकडाउन’मा बदल्दै स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने आवश्यकता रहेको बताउँछन्।
यसैबीच, यहाँ कोरोना संक्रमणमध्ये ३८ दशमलव ५१ प्रतिशत सक्रिय संक्रमित बनेपा नगरपालिकाका छन्। जिल्लामा हालसम्म एक हजार ७२४ मा कोरोना भाइरस संक्रमण देखिएमध्ये बनेपाका ६६४ हुन्।
पछिल्लो २४ घण्टामा बनेपाका २४ मा, अघिल्लो दिन ३४ मा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ। हालसम्म नगरका दश संक्रमितको मृत्यु भएको छ। हाल कोरोनाको ‘हटस्पट’का रुपमा देखिएको बनेपा सहर जिल्लाको प्रमुख व्यापारिक केन्द्र पनि हो।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता हालसम्म जिल्लाका कुल एक हजार ७२४ संक्रमितमध्ये बनेपामा ६६४, धुलिखेलमा ३५३, पनौतीमा २९८, पाँचखालमा १०५, नमोबुद्धमा ८० र मण्डनदेउपुर नगरपालिकामा ६७ तथा रोशीमा २३, चौंरीदेउरालीमा १८, तेमालमा २८, भुम्लु ३०, खानीखोलामा २३, बेथानचोकमा १८ र महाभारत गाउँपालिकामा १७ सक्रिय संक्रमित छन्।
कुल संक्रमितमध्ये ९५ प्रतिशत अर्थात् एक हजार ६४२ संक्रमित होम आइसोलेसनमै उपचाररत छन्। हालसम्म जिल्लाका ७२ कोरोना संक्रमितको मृत्यु भएको छ।