चितवन – शान्त ताल , वरिपरी हरियाली दृश्य , तालको बीचमा घोप्टो परेर एकजना मानिस केही गरेजस्तो देखिन्छ । उनको वरिपरी केही काठका वन्यजन्तुका काष्ठकलाका मुर्तिहरु छन । कुनै बन्दै गरेका कुनै बनिसकेका । उनका अगाडी छिनो, हतौडा, रंगहरुका ब्रस बट्टा पनि छरिएका छन । यो दृश्य देख्दा जो कसैलाई लाग्छ उनी कुनै सिकर्मी नभई एउटा कुशल कालीगढ हुन् ।
कुमरोज सामुदायिक वन अन्तर्गत यो बोटे दराई तालमा काठलाई कुंँदेर आकृति दिदै उनको जिन्दगी यसरीनै ६ बर्षदेखि चलिरहेको छ । यी हुन् पुष्कर गुरुङ । घर खैरहनी वडा नम्बर १३ । उनी बैशाखको त्यो चर्को घाममा पनि खमारीको काठको टुक्रालाई गैंडाको आकार दिँदै थिए । छिनो र हतौडाको प्रयोगले उनी गैंडा बनाउदै थिए । खमारीको काठको टुक्रा सुन्दर गैंडा बन्दै थियो ।
गैंडा मात्र होइन, उनी काठको टुक्रालाई हात्ती, नाग, मयुर र बिभिन्न देवी देवताको आकार पनि दिने गर्छन । उनको दैनिकीनै यिनै कला, मुर्तिसंँग भलाकुसारी गरेरै बित्ने गर्छ । उनको साहारानै यिनै काष्ठकला हुन् । यही कला बेचेरनै आफ्नो परिवारको पालन पोषण गरिरहेका छन ।
उनी शारिरीक रुपमा असक्त व्यक्ति हुन् तर उनको कलामा कुनै असत्तपन छैन । ‘म त असक्त छु तर मेरा कलामा तपाईहरुले त्यस्तो पाउनुहुन्न ।’ उनी खिस्स हांँस्छन । हुनत आफ्नो शारिरीक असक्तताको पीडा कसलाई हुँदैन र ? तर यही असक्तताको तीतो यथार्थ उनको काष्ठकलाले बिर्साइदिएको छ । । पोलियो कमी भएका कारण उनको खुट्टाले राम्रोसँग हिंँड्न मिल्दैन । ‘म अरु सामान्य मानिस जस्तै आफ्नै खुट्टामा उभिएको छु परिवारको पालनपोषण पनि मेरै कांँधमा छ ।’उनी गर्व गर्छन ।
२०७२ सालको भुकम्पपछि आफ्नै गाउँ फर्किएका उनले २०७३ सालदेखि मुर्ती बनाउने कलालाई नै आफ्नो पेशा बनाएका रहेछन । त्यस अघि काठमाडौंमा नै हुँदा उनी बोन स्टोनको काम गर्थे । त्यो पनि एक किसिमको मुर्ती कला नै भएकोले काठलाई मुर्तीको आकृति दिन उनलाई खासै गाह्रो भएन । ‘तर पनि मैले कलालाई तिखार्न सौराहामा काठको मुर्ती बनाउन सिकें ।’ उनी आफ्नो कलाप्रतिको मोह दर्शाउंँछन ।
०७२ सालको भुकम्पले सयौं मान्छेले मृत्युवरण गर्नुपरयो, हजारौं घरवारविहिन भए , कयौंको रोजीरोटी खोसियो । विनाशकारी , निर्दयी उनलाई पनि किन छोड्थ्यो र ! भुकम्पपछि दैनिक गुजारामा नै समस्या भएपछि उनी आफ्नै घर चितवन फर्किएका हुन् । हुन त काठमाडौंबाट फर्किएका उनी फेरी काठमाडौं नै जाने मनस्थितीमा नपुगेका पनि होइनन् । तर उनको कला र क्षमताको पहिचान गरेर कुमरोज सामुदायिक वनले नै उनलाई वन भित्र को मुर्ती बनाएर आर्थिकोपार्जन गर्ने स्थान दिएपछि भने उनी यसैमा रमाउन थाले । ‘मलाई आफ्नै गाउँ आफ्नै ठाउंँ ठिक लाग्यो हिजोको भन्दा मेरो कमाई राम्रो छ ।’ उनको निधारमा सन्तुष्टीका धर्का सहजै देख्न सकिन्छ ।
अहिले उनी हरेक दिन बिहान त्यहाँ पुग्छन् । दिनभर काठको मुर्ती कुंँद्छन् । घुम्न आउने पर्यटकलाई आफ्नै कला र सिपले बनाएको मुर्ती बेच्छन् र साँझ घर फर्किन्छन् । काठको टुक्रालाई मुर्तीको आकार दिएर नै उनी मासिक ४० हजारसम्म आम्दानी गर्छन् । उनको घरमा ५ जना सदस्य छन् । सबै उनीमा नै निर्भर छन् । उनको आम्दानीले परिवारको गुजारा सजिलै चलिरहेको उनले बताए ।
पर्यटक मात्रै होइन उनको कला किन्नलाई सौराहाका क्युरियो सप र अन्य जिल्लाबाट पनि मानिस आउंँने गर्छन । उनी एकैदिनमा ३ वटासम्म मुर्ती कुदेर भ्याउछन् । एउटा सानो मुर्तीको कसैले एक हजारदेखि एक हजार २०० सम्म दिन्छन् भने केहीले भने ७–८ सयसम्म दिन्छन् । ठुलो मुर्ती भने ४ हजार ५ सयसम्म दिने गरेको उनी बताउछन् । उनको एउटा अनौठो र उदार बानी छ । ‘आँफै पनि यती नै पर्छ भनेर मुल्य तोक्दैनन् ।
मैले कुनैपनि कलाको मुल्य तोक्ने गरेको छैन । जसले यसबारे बुझ्छ उसले पैसासँग तुलनानै गर्दैन ।’ उनमा कलाको उच्च सम्मान झल्किन्छ । त्यसैले पर्यटकहरुले कलाको सम्मान गरेर दिने रकमलाई अस्वीकार नगर्ने उनी बताउंँछन् । बिशेष गरी पर्यटकहरु एक सिङ्गे गैंडाकै मुर्ती बढी रुचाउने उनले बताए ।
चितवनको चिनारी नै भएकोले आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा एक सिङ्गे गैंडा नै पर्ने उनको बुझाई छ कुमरोज सामुदायीक वन समितिले आफ्नो कला चिनेर स्थान दिएर सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । त्यहाँ बसेर मुर्ती बनाउदा र बिक्री गर्दा उनले वनलाई कुनै पनि किसिमको शुल्क तथा कर तिर्नुपर्दैन । ’म शारीरिक रुपमा अशक्त छु, तर मेरो कलालाई चिनेर उहाँहरु (वन समिति) ले मलाई यहाँ ठाउँ दिनुभएको छ, उनी भन्छन्, म त फेरी काठमाडौं नै फर्किने सोचमा थिए तर कला कृतिको प्रदर्शनी पनि हुने, वनको बिशेषता पनि बढ्ने र म स्वरोजगार पनि हुने भनेर उहाँहरुले ठाउँ दिनुभयो ।’
खैरहनी नगरपालिका १३ स्थित कुमरोज मध्यवर्ती सामुदायीक वन क्षेत्र भित्र कृत्रिम ताल निर्माण गरिएको छ । वन र नगरपालिकाले बनाइदिएको दराई बोटे ताल क्षेत्रमै बसेर खैरहनीका गुरुङ काठको मुर्ती बनाउने र घुम्न आउने पर्यटकलाई बेच्ने काम गर्छन् । ‘गुरुङ्ग जस्तै हजारौं शारिरीक असक्तता हुनेले यस्तै सिर्जनात्मक काम गर्न सके उनीहरु आफै आत्मनिर्भर हुन बल पुग्थ्यो । हेंँला र तिरस्कार पनि सहनु पर्थेन । त्यस्ता फरक क्षमता भएका व्यक्तिका लागि उनी प्रेरणादायी व्यक्ति बन्न सक्छन ।’