गंगा नदीको किनारमा भेटिए थप ७१ बेवारिसे शव

एटुजेड समाचार

काठमाडौं – पछिल्ला केही दिनयता गंगानदीले बगाएका बेवारिसे शव भारतको विभिन्न स्थानमा भेटिन थालेको छ । पहिचान नखुलेका र कहाँबाट आयो भन्नेसमेत यकिन नभएका यस्ता शवहरु भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेको हो ।

आम रूपमा गंगामा मृत चौपायाहरु भेटिनु सामान्य जस्तै थियो । तर कोरोना महामारीको बीचमा यति धेरै बेवारिसे शव भेटिनुलाई भने चिन्ताको विषय मानिएको छ । पछिल्लो पटक भारत बिहारमा अवस्थित गंगा नदी किनारमा बेवारिसे ७१ शव भेटिएका छन् ।

यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए । पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शवहरु बक्सर जिल्ला प्रशासनले पोष्टमार्टमपछि खाल्डोमा गाडेको छ । तिनको डिएनएको नमूना भने सुरक्षित राखिएको छ ।

ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने खुलेको छैन । अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरु बताउँछन् । कतिपयले भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव जलाउने दाउराको मूल्य महँगो भएकाले निजलाई त्यत्तिकै फ्यालिदिएको हुनसक्ने अनुमानसमेत गरेका छन् ।

बक्सर जिल्लाका एसपी निरज कुमार सिंहका अनुसार शवहरु सडेका थिए । शवको अवस्था अत्यन्त खराब भएकाले घाटमै पोष्टमार्टम गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु