चितवन – मंगलबार मध्यान्ह १२ बजे जिल्ला प्रशासन कार्यालय चितवन अगाडि केही युवाहरु नारा लगाउदै थिए – देशकै मेडिकल सिटीमा, जनता मर्नु पर्ने अस्पतालको पेटीमा’, आइसियु नभएर जाँदैछ ज्यान, सिडिओ साबको कता छ ध्यान’, ‘जनताको उपचारको ग्यारेन्टी खै ?’
प्रशासन गेट अगाडि जम्मा १० जना युवाहरु नारा लगाउदै थिए । दशै जनाको हातमा छुट्टा छुट्टै नारा लेखिएको प्ले कार्ड थियो । १० जना १० नारा । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर नै उनीहरु प्रदर्शन गर्दै थिए । प्रदर्शन जिल्लाको स्वास्थ्य क्षेत्र पछिल्लो अवस्था सुधारका लागि थियो ।


बिरामी बेलैमा उपचार तथा अक्सिजन अपाएर ज्यान गुमाउनु पर्ने स्थिती सृजना भएको भन्दै उनिहरु प्रदर्शन उत्रिएका हुन् । प्रदर्शनकै क्रममा उनीहरुले जनताको उपचारको ग्यारेन्टी खै भन्दै प्रमुख जिल्ला अधिकारीलाई प्रश्न गरिरहेका थिए । देशकै मेडिकल सिटीको रुपमा परिचित चितवनमा नै संक्रमितहरुले अस्पतालमा बेड र अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने बिषय लज्जास्पद भएको उनीहरुको भनाइ थियो ।
उनीहरुले बिरामीको उपचारमा प्रशासनदेखि स्थानीय सरकार सबैले लापरपाबी गरेको आरोप समेत लगाए । प्रदर्शनमा सहभागी भरतपुरका युवा सन्तोष पन्त मेडिकल सिटीमा नै उपचार नपाएर जनताले अस्पतालको पेटीमा ज्यान गुमाउनु अत्यन्तै दु:खद भएको बताउछन् । यस्ता घटनाले मेडिकल सिटीलाई नै गिज्जाईरहेको उनको भनाइ थियो ।
‘चितवनलाई मेडिकल सिटी भनिन्छ तर यहाँको जनताले उपचार नपाएर सडक पेटीमा ज्यान गुमाउनु पर्ने अवस्था छ, उनी भन्छन्, के यही हो मेडिकल सिटी ? न जनताको जीवन रक्षामा प्रशासन गम्भीर छ न त स्थानीय सरकार र सरोकारवालाहरु नै ।’
प्रदर्शन सहभागी अर्का युवा रेशम अधिकारी बेड नपाएर बिरामीले ज्यान गुमाउदै गर्दा समेत सरोकारवालाहरु गम्भीर नभएको बताउछन् । जनता उपचार नपाएर मृत्युको मुख पुग्दा समेत जनप्रतिनिधि गम्भीर नभएको भन्दै उनी जनप्रतिनिधिको दायित्व के हो भन्दै प्रश्न गर्छन् । ‘जनता उपचार नपाएर छटपटिदै छन्, तर जनताले चुनेर पठाएका जनप्रतिनिधि अझै गम्भीर छैनन्, उनी भन्छन्, जनप्रतिनिधिको दायित्व के हो ? जनताको उपचारको ग्यारेन्टी खोइ ?’
अर्का युवा अमृत काफ्ले महामारीको दायित्व स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्र हो ? भन्दै प्रश्न गर्छन् । अवस्था जटिल हुँदा समेत जनप्रतिनिधि तथा सरोकारवालाहरु गम्भीर नभएको उनको गुनासो छ ।
स्मरण रहोस् आज प्रदर्शनमा उत्रिएका युवाहरुले चितवनमा आपतकालिन एम्बुलेन्स सेवा सञ्चालन गरिरहेका छन् । एम्बुलेन्स नपाएर अस्पताल आउन सम्स्या भएका नागरिकहरुको सहजताका लागि उनीहरुले आपतलाकिन सहयोग कक्ष स्थापना गरेर सेवा दिइरहेका छन् । उनिहरुले अक्सिजनसहितको एम्बुलेन्स सेवा, परामर्श, समस्यामा परेकाहरुलाई घर घरमा औषधि पुर्याउनेलगायतका सेवा दिइरहेका छन् ।