चितवन – चितवन जिल्लामा विल विजक र एमआरपी व्याच नभएका स्वास्थ्य सामग्री बेच्न नपाइने भएको छ । आईतवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको औषधि व्यवसायीहरुका प्रमुखहरुको बैठकमा यो निर्णय भएको हो ।
बैठकले यो सहित थप तीन वटा निर्णय गरेको छ । निर्णय नम्बर एकमा भनिएको छ – ‘जिल्लामा कोभिड–१९ तथा अन्य रोगको उपचारमा प्रयोग हुने औषधि तथा स्वास्थ्य सामान अभाव हुन नदिने, कालो बजारी, कृतिम अभाव हुन नदिने, गैर कानूनी बिक्रि बितरण हुन नदिने उपायका बारेमा छलफल भयो ।’



बैठकका क्रममा औषधि व्यवसायीहरुका प्रमुख तथा प्रतिनिधिहरुले स्वास्थ्य सामग्रीको उपलब्धता, बिक्री वितरणका सन्दर्भमा हुने अनुगमन तथा कानून बमोजिमको कार्वाहीको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । साथै औषधि तथा सर्जिकल व्यवसायीले समेत अनुगमन गरि गैर कानूनी क्रियाकलाप नियन्त्रणमा सहयोग गर्ने वचनवद्धता जनाएका छन् ।
यसैगरि जिल्लामा सबै प्रकारका औषधि तथा स्वास्थ्य सामग्री अभाव हुन नदिन पर्याप्त मात्रामा आयात गर्ने पनि निर्णय भएको छ । आईतबारको बैठकमा औषधि तथा सर्जिकल व्यवसायीका सात जना प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । पछिल्लो समय जिल्लामा विविध औषधी तथा स्वास्थ्य सामग्रीको कालो बजारी भईरहेको भन्ने गुनासो बढ्दै गएको थियो ।