काठमाडौं – कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेसँगै देशभरका बिभिन्न जिल्लामा धमाधम निषेधाज्ञा जारी भइरहेको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रालयका अनुसार चितवन, बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा आवातजावतमा पूर्ण रोक लगाइएको छ । यसैगरी कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।
यस्तै काभ्रेपलाञ्चोक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक र धनकुटाका कोरोना प्रभावित क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ ।