गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने

एटुजेड समाचार

पोखरा – गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका विषयमा छलफल गर्न आज (बिहीबार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि बेशाख १५ गते अविश्वास प्रस्ताव मतदानमा लैजाने कार्यसूची थियो। संसद अधिवेसनमा जनमोर्चा सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि उक्त दलका सचेतक पियारी थापाले आफ्ना सांसद हराएको भन्दै सदन स्थगन गरेर जीवन रक्षाको माग राखेकी थिइन्।

सोही मागका आधारमा सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्ताव मतदानमा नलगी सदन अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अघि बढाएर पेश भएको अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन्। अविश्वास प्रस्तावमा हुने मतदान सबै सांसद उपस्थित भएर दलीय ह्विप पालना गरे कांग्रेस नेता नेपाली गण्डकीको दोस्रो मुख्यमन्त्रीका रुपमा निर्वाचित हुनेछन्।

गण्डकी प्रदेश सभामा सत्तारुढ एमालेको २७, कांग्रेसको १५, माओवादी केन्द्रका १२, जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र १ जना गरी ६० जना सांसद छन्। विपक्षी दलहरुको गठबन्धनलाई जनमोर्चाले साथ दिँदा उनीहरुलाई आवश्यक बहुमत ३१ पुगेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु