नारायण अधिकारी,
चितवन – चितवनका दुईवटा अस्पतालमा १८ घण्टामा आठजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा चार र भरतपुर अस्पतालमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश ५० वर्ष मुनिका रहेका छन् । चितवन मेडिकल कलेजका सूचना अधिकारी डा किशोर अधिकारीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४२ वर्षीय पुरुष, रुपन्देहीकै शुद्धोधन नगरपालिकाका ४२ वर्षीय पुरुष, नवलपपरासीको गैँडाकोट नगरपालिकाका ५८ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ५८ वर्षीय पुरुषको मृत्यु मृत्यु भएको छ ।
मृत्यु भएकाहरुमा कोभिडबाहेक अन्य जटिल समस्या नरहेको अधिकारीले जानकारी दिए।यस्तै भरतपुर अस्पतालका मेडिकल रेकर्डर नारायण रिजालका अनुसार भरतपुर–४ का ६२ वर्षीय पुरुष र बुटवलका ४० वर्षीय पुरुषको मङ्गलबार दिउँसो, साँझ मकवानपुरको हेटौँडा नगरपालिकाका ४३ वर्षीय पुरुषको र बुधबार बिहान भरतपुर महानगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ ।देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार दैनिक सात/आठवटा शव दाहसंस्कारका लागि आउने गरेकामा अहिले यो सङ्ख्या बढेर एकै दिन १९ सम्म पुगेको छ ।
यसअघि धेरै शव आएका दिन १० वटासम्म हुने गरेको भन्दै उहाँले एकाएक शव बढेपछि दाउराको व्यवस्थापन जटिल बन्ने बताउनुभयो ।कोरोनाबाट मृत्यु भएकाहरुको नेपाली सेनाको सहयोगमा बागेश्वरीस्थित नारायणी नदी किनारमा अन्तिम संस्कार गरिन्छ । कतिपयलाई जलाइन्छ भने कतिपयको धार्मिक विधिअनुसार पुर्ने गरिन्छ । जलाउनका लागि देवघाटबाटै दाउरा लैजाने गरिन्छ ।
घिमिरेको भनाइमा विगतका तुलनामा दोब्बरभन्दा बढी शव आउन थालेपछि थप दाउरा व्यवस्थापनको तयारी थालिएको छ । शवको व्यवस्थापनमा सहयोग गर्दै आएको कालीबहादुर गण भरतपुरका प्रमुख सेनानी विज्ञानराज खनालका अनुसार सङ्क्रमण भएका दैनिक तीन/चारवटा शव सेनाले व्यवस्थापनमा सहयोग गर्दै आएको छ । अन्य शव देवघाटमा अन्त्येष्टि गरिन्छ ।रासस

