काठमाडौं – कोभिड १९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ ।
राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् ।


शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ । गत २०७७ साल वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो तर सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन ।
गत मङ्सिररपुसबाट बल्ल कक्षाकोठाभित्र प्रत्यक्ष पठनपाठन थालियो । त्यस्तै कक्षा १२ को पठनपाठन सुरु भएको छ महिना पनि भएको छैन । यसले गर्दा कक्षा १० र १२ को सबै कोर्स पूरा भइसकेको छैन । दुर्गमका कतिपय विद्यालयमा विज्ञान र गणित विषयको कोर्स ६० प्रतिशतसम्म सकिएको अवस्था छ ।
गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तयारी गरेका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहो¥याएर अभ्यास गर्न त टाढाकै कुरा कोर्स नै पूरा हुन सकेको छैन ।