चितवन – चितवनमा जारी निषेधाज्ञाको अवलोकनमा प्रमुख जिल्ला अधिकारी आफै खटिएका छन् । केही प्रहरी सहित प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने आफै खटिएका हुन् ।
सो क्रममा निषेधाज्ञाको बर्खिलाप हुने गरि खोलिएका पसल व्यवसाय बन्द गराइएको छ । पट्कै पिच्छे नियम उल्लङ्घन गर्नेहरुलाई कार्बाही पनि गर्ने गरिएको छ । जिल्लामा गत बैशाख १६ गते रातीदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा अवधिभर आम सर्वसाधारणका लागि दैनिक उपभोग्य सामग्री किन्न प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म को समय तोकिएको छ ।
उल्लंघन गर्नेलाई कारबाही
जिल्ला प्रहरी कार्यालय चितवनले निषेधाज्ञा उल्लंघन गर्ने ७८९ सवारी साधनलाई कारबाही गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट आज ५३८ वटा दुई पाङ्ग्रे र २५१ वटा ठुला सवारी साधनलाई कारबाही गरिएको हो ।
यस्तै निषेधाज्ञा उल्लंघन गर्दै आवश्यक रुपमा हिडडुल गर्ने १ हजार ७०२ जना मानिसहरुलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ । जसमध्ये १ हजार २३ पुरुष र ६७९ महिला छन् ।
उनिहरुलाई नियन्त्रणमा लिई एक घण्टा होल्ड गरिएको थियो । निषेधाज्ञा उल्लंघन गर्नेहरुबाट आज मात्रै ६५ हजार २०० रुपैयाँ राजस्व संकलन गरिएको चितवनका प्रहरी प्रवक्ता, डिएसपी सरोज गिरीले बताए । धेरैलाई सम्झाई बुझाई छाडिएको तर अटेर गर्नेलाई भने जरिवाना गरिएको डिएसपी गिरीले बताए ।