चितवनमा गैंडा गणना गर्ने टोलीमाथि ‘धुर्वे’ हात्तीको आक्रमण, ७ घाइते, एकको अवस्था गम्भीर

एटुजेड समाचार

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा गणनामा खटिएको टोलीलाई ‘धुर्वे’ हात्तीले आक्रमण गरेको छ । गैंडा गणनाको क्रममा आज (शुक्रबार) दिउँसो हात्तीले उनिहरुलाई आक्रमण गरेको हो ।

हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठसहित ७ जना घाइते भएका छन् । घाइते मध्ये श्रेष्ठको अवस्था गम्भीर रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

उनलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचारपछि उपचारका लागि साँझ ५ बजेतिर हेलिकप्टरबाट काठमाडौं पठाइएको उनले बताए ।उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ। अन्य को भने मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा नै उपचार भइरहेको छ।

गैंडाको गणनाका लागि शुक्रबार निकुञ्जको टोली पश्चिम सेक्टरको गैंडाखासा भन्ने ठाउँमा पुगेको थियो। ‘जंगली हात्तीले टोलीलाई लखेट्न थालेछ, उनले भने, भागाभाग हुँदा कर्मचारी घाइते भएका छन् ।’ उक्त घटनासँगै चितवन निकुञ्जमा जारी रहेको गैंडा गणना कार्य तत्कालका लागि स्थगित गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेबाट एक सिंगे गैंडाको गणना सुरू गरिएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु